| शनिबार, कार्तिक २८, २०८३

पहिलो पटक बस लिएर घ्याच्चोक गाउँ पुगे सांसद

अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा शुक्रबार पहिलोपटक बस पुगेको छ । सोही क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडी गाउँमा पहिलो पटक बस लिएर पुगेका हुन् ।

सो गाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयबासी खुशी भएका स्थानीय शिक्षक वीरबहादुर गुरुङले जानकारी दिए । ‘१२ बर्षअघि बाबुराम भट्टराई अर्थमन्त्री हुँदा हाम्रो गाउँमा सडक खन्न पहिलो पल्ट बजेट परेको हो’, उनले भने, ‘बर्षेनी स्तरोन्नति गर्दागर्दै अहिले बस जान सक्ने भयो । अहिले गाउँमा बस आएपछि गाउँलेहरु धेरै खुशी छन् ।’

गाउँलेहरुले पहिलो पटक बस लिएर गाउँमा आएका सांसद दवाडी, बस चालक, बसलाई पनि माला लगाइदिएर खुशी साँटासाँट गरेका उनले बताए ।


यसअघि गाउँमा जीप र ट्याक्टर मात्र जाने गरेको थियो । ‘अब बस आएको छ । ‘घ्याच्चोक र यस आसपासका आठ वटा गाउँका सातसय ५० घरधुरीका बासिन्दाले यातायात सेवा पाउने भएका छन्’, शिक्षक गुरुङले भने, ‘अब बस चढ्नकै लागि बालुवा बजार, सिम्जुङगाउँसम्म पुग्नु नपर्ने भएको छ ।’ धन्सिरा गाउँका एकसय घर, बाँसकोट गाउँ, तुर्ती र देवलस्वाँराका ८५ घरधुरी, घ्याच्चोकका एकसय पाँच घरधुरी, मिलिम गाउँका ९० घरधुरी, माझथर र थुमगाउँ गरी ७५ घरधुरीका बासिन्दाले अब गाउँमै बस चढ्न पाउने उनले बताए ।

घ्याच्चोक गाउँबाट काठमाडौं र गोरखाबजारसम्मका लागि बस सेवा सञ्चालन हुने उनले बताए ।

बस पुग्नु मात्र भन्दा पनि हिउँदबर्खै बस चल्ने बाटो निर्माण गर्नुपर्ने अर्का स्थानीय दिनेश सुनारले बताए । ‘गाउँमा बस आइपुगेको छ । यो त खुशीको कुरा हो’, उनले भने, ‘हिउँदमा मात्र होइन, हिउँदबर्खै बस चल्ने सडक बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्