
गोरखा नगरपालिकाभित्र नगर बससेवा सुरु
गोरखा नगरपालिका भित्र बिहिवारदेखि नगरबस संचालनमा आएको छ । नगरबस सुभारम्भ गर्दै नगरप्रमुख राजनराज पन्तले रुटका सडकमा सँधै सवारी चल्न सक्ने बनाउने दावी गरे ।
‘नयाँ रुट पनि खोज्दै जानेछौँ, निरन्तर चलाउनमा हामी लाग्नेछौँ’ उनले भने । नगरबासीको सुविधाका लागि नगरबस संचालन गर्न लागेको बताउँदै उनले ब्यवशायीको सुरक्षा नगरका जनतले गर्ने बताए । अन्य यातायात सेवा प्रदायक प्रालिहरु पनि सेवा दिने गरी छलफलमा आउन सक्ने बताउँदै उनले सहुलियतमा सहज सेवा सुविधा दिने योजनामा संचालन गरिएको बताए । प्रालीले कुनैपनि बाहनामा नगरको रुटमा बस छुटाउन नपाउने सम्झौता नगरपालिका र प्रालि बिच भएको छ । ब्यवशायीलाई घाटा नहोस् भन्ने उद्देश्यले घुम्ती सेवा दिने पाँच रुटका सवारीलाई दैनिक १० लिटर डिजेल संस्थाले हाल्ने निर्णय गरेको प्रालिले जनाएको छ ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि र नगरपालिका बिच सम्झौता भएर १० वटा रुटमा चल्ने नगरबसको नगरप्रमुख राजनराज पन्तले सुभारम्भ गरेका हुन् । पहिलो दिन केही वडा अध्यक्षहरु पनि आफ्नो रुटमा परेको गाडीमा चढेर गाउँ पुगेका थिए । पहिलो दिन नगरपालिकाबाट गाडी लिएर गाउँगाउँ पुगेका चालकलाई खादा र अबिर लगाएर पठाइएको थियो । गाउँगाउँमा पनि चालक, सह चालकलाई फुलमालाले स्थानीयले स्वागत गरेका थिए । साथै निरन्तर सेवा दिन पनि नगरबासीले अनुरोध गरे ।
यात्रुले गोरखा बजार क्षेत्रमा तीन किलोमिटर भित्र सवारी चढेपछि १५ रुपैयाँले तिरे पुग्छ । नगरपालिका सँग भएको सम्झौतामा नेपाल सरकारले कायम गरे भन्दा धेरै भाडा लिन नपाउने उल्लेख छ । समितिले गोरखा बाट–फिनाम सम्म ३५ रुपैयाँ, कोखे आहाले ५०, डेरागाउँ ४०, झिंगटे ७०, नारेश्वर ४०, देउराली ५५, आँपचौर ६०, पढेँनी चौतारा ६५, होलसिंङ ७० छेवेटार ६० र देउराली १३० कायम गरेको छ ।
अहिले सवारी चलिरहेको रुट पर्ने ठाउँमा लिइँदै आएको भन्दा पाँच देखि १० रुपैयाँ सम्म कम गरिएको पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रालिका क्षेत्रीय सदस्य बिपिनचन्द्र ढकालले बताए । यसलाई ब्यवस्थित र बैज्ञानीक भाडा दर भए नभएको पुष्टि गर्न, सडकको अवस्था अध्ययन गर्न नगरपालिकाका इन्जिनियर प्रकाश ढकाल र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किाशोरजंग थापा र यातायात ब्यवशायी बिपिनचन्द्र ढकाल सहितको तीन सदस्यीय समिति गठन गरिएको छ ।




