| शनिबार, कार्तिक २८, २०८३

धार्चेमा सामुदायिक अस्पताल भबन सिलान्यास

 

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ३ स्थित खोर्लाबेसीमा १५ शैयाको अस्पतालको सिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बुधवार एक कार्यक्रमका बिच अस्पताल भबनको सिलान्यास गरेका हुन् ।

‘गाउँपालिकाको ४० र छायाँ नेपालको ६० प्रतिशत लगानीमा धार्चेमा नमुना अस्पताल बनाउन लागेका हौँ’ सिलन्यासपछि अध्यक्ष गुरुङले भने । १८ महिनामा निर्माण पूरा हुने गरी सुरु गरिएको अस्पताल भबनका लागि दुई करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

अस्पताल निर्माण गर्न गाउँपालिकाले प्रतिरोपनी चार लाख रुपैयाँ तिरेर नौ रोपनी १० आना जग्गा खरिद गरेको हो । तीनवटा घर समेत अतिक्रमण गरेर बिस्थापितहरुलाई पुनस्र्थापना गर्न नौ लाख रुपैयाँ खर्च गरिएको अध्यक्ष गुरुङले बताए ।

छायाँ नेपालका उपाध्यक्ष सन्तोष सिलवालले धार्चे, चुमनुब्री जस्तो दुर्गम ठाउँमा अस्पताल नभएकाले माछाखोलामा बन्ने सुविधा सम्पन्न हस्पिटलले दुर्गम भेगका सर्वसाधारणलाई सहज हुने बताए । ‘एमविविएस डाक्टर सहित, एक्सरे, टेलिमेडिसिन, सुरक्षित सुत्केरी लगायतका सेवा त्यहाँबाट दिनेछौँ’ उनले भने । सामुदायिक हस्पिटलले एम्बुलेन्स सेवा सञ्चालन सँगै धार्चेका सातवटै वडास्तरको स्वास्थ्य ईकाईमा आउने बिरामीलाई टेलिमेडिसिनको माध्याबाट निग्रानी गर्ने, उपचार सेवा दिने जनाएको छ । अहिले पनि चुमनुब्री गाउँपालिका र धार्चेका स्थानीय सुत्केरी हुन, उपचार गराउन धेरै पैसा खर्चेर हेलिकप्टर चढ्नुपर्ने बध्यतामा छन् । उक्त हस्पिटलले चुमनुब्रीका सर्वसाधारणलाई पनि फाईदा पुग्ने गरी योजना बनाइएको छायाँ नेपालका उपाध्यक्ष सिलवालले बताए ।

उक्त अस्पतालमा दुई वर्ष सम्म विषेशज्ञ डाक्टर सहितको सेवामा छायाँ नेपालले सघाउने र त्यसपछि गाउँपालिकाले ब्यवस्थापन गर्ने दुईपक्षिय सम्झौता भएको छ । छायाँ नेपालको दातृसंस्था अर्थकेयर स्विजरल्याण्डले बिदेशी स्वयमशेवक डाक्टरहरु ल्याएर गाउँगाउँमा स्वास्थ्य शिविर समेत गर्ने जनाएको छ । अहिले धार्चे र चुमनुब्री गाउँपालिकामा स्वास्थ्य चौकीले साधारण मात्रै सेवा दिँदै आका छन् । ‘अस्पताल बनेपछि मनास्लु पदमार्गमा जाने पर्यटकलाई पनि सजिलो हुनेछ’ धार्चे गाउँपालिका अध्यक्ष गुरुङले भने ‘वृद्धवृद्धालाई मेडिकल इन्सोरेन्स गरेर निशुल्क औषधी दिनेछौँ ।’
तीनवटा ब्लकमा निर्माण हुने अपाङ्ग मैत्री सामुदायिक अस्पतालको २१ वटा कोठा हुनेछ । बुधवार आयोजित भबन सिलन्यास कार्यक्रममा छायाँ नेपालको उपाध्यक्ष सन्तोष सिलवाल, कार्यकारी निर्देशक कमल थापा, इन्जिनियर सुरेन्द्र शाही लगायतको उपस्थिती रहेको थियो ।

छायँ नेपालले गोरखामा ५ वर्षयता सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । भुकम्पपछि चुमनुब्री धार्चे र आरुघाट गाउँपालिकामा ८ वटा विद्यालय निर्माण पुरा गरेर हस्तान्तरण गरिसकेको उपाध्यक्ष सिलवालले बताए । चुमनुब्री गाउँपालिकाको ७ लारमा तीन वर्षदेखि बर्थिङ सेन्टर स्थापना गरेर संचालनमा आएको छ ।

आरुघाट गाउँपालिका २ पात्लेखर्कमा सामुदायिक स्वास्थ्य ईकाई र पालुङटार नगरपालिका ५ ठाँटीपोखरीमा सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा ल्याउन नगरपालिकालाई सहयोग गरेको छ । त्यहाँको नगरपालिका सँगको साँझेदारीमा फोहोरमैला ब्यवस्थापन, जलवायु परिर्वतनका बारेमा काम गरिरहेको उनले बताए ।

गोरखा बाहेक रसुवा, सिन्धुपाल्चोक, मुगु हुम्ला डोल्पा, सोलुखुम्बु, दाङ, कैलाली, पर्सा, रौतहट लगायतक जिल्लामा छायाँ नेपालले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्