
गोरखा काङ्ग्रेसलाई स्वर्णिम सन्देश : बुढाबुढीलाई भत्ता दिएर एमाले लोकप्रिय भयो, बालबच्चाको हितमा काम गरेर काङ्ग्रेस लोकप्रिय बनोस्
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद स्वर्णिम वाग्लेले नेपाली काङ्ग्रेसलाई हजार दिनका(दुईबर्षका) बालबालिकाको क्षेत्रमा काम गर्न सुझाव दिएका छन् ।
काङ्ग्रेसको तर्फबाट विजयी गोरखाको नौवटा गाउँपालिका, नगरपालिका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, सबै गाउँपालिका, नगरपालिकाका पार्टी संगठनका, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा पदाधिकारी, प्रदेश सांसदहरु, कांग्रेसका जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रममा बोल्दै वाग्लेले बालबालिकाको क्षेत्रमा काम गर्न सके काङ्ग्रेसलाई नेपाली जनताले जीवनभर सम्झने तर्क गरेका छन् ।
‘जसरी एमालेले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई भत्ता दिएर मन जित्यो, त्यसैगरी काङ्ग्रेसले पनि आफूले जितेको नगरपालिका, गाउँपालिका तथा वडामा हजार दिनका(दुईबर्षका) बालबालिका तथा सुत्केरी आमाको स्वास्थ्य सम्बन्धी कार्यक्रम ल्याएर मन जित्नु पर्छ’, वाग्लेले भने, ‘हजार दिनका बालबालिका तथा सुत्केरी आमाको स्याहार सम्भार राम्रो भयो भने त्यो बच्चाको शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्य पनि सुदृढ हुन्छ । भविष्यका लागि सशक्त नागरिक तयार हुन्छ । अनि मेरो कार्यकालमा देखिने खालको यो कार्यक्रम गरेँ भनेर सम्झँदा पनि शीर उचो हुन्छ ।’ स्थानीय निर्वाचनको घोषणा पत्रमा पनि बालबालिकाको क्षेत्रमा काम गर्ने भनेर प्रतिवद्धता गरेको उनले स्मरण गरे ।
‘भर्खर जन्मेको बच्चाको खाता खोलिदिएर हातमा भौचर राखिदिए पनि हुन्छ । दुईदुई हजार रुपैयाँ हातहातमा राखिए पनि हुन्छ’, वाग्लेले भने, ‘त्यसो गर्दा पैसा बाँड्यो भनेर कसैले भन्दा पनि भन्दैन । भन्यो भने विश्वको शक्ति सम्पन्न अमेरिकाका राष्ट्रपति बाराक ओबामाले गरेका उदाहरणहरु, विभिन्न तथ्यहरुमा आधारित विद्वानहरुले दिएको दिएर त्यस्तो कामको बचाउ हामी गर्छौं ।’ यस्तो काम गर्दा मुलुकको मातृशिशु मृत्यूदर घटाएको, शिशु मृत्यूदर घटाएको, गरिबी घटाएको भनेर विश्वले वाहवाह गर्ने उनले तर्क गरे । ‘राजा फाल्ने, ब्यबस्था फाल्ने भन्दा पनि बालबालिकालाई जुकाको औषधी बाँड्दा ठूलो क्रान्ति हुन्छ भनेर अफ्रिकाको अनुभवबाट हासिल भएको छ’, उनले भने, ‘महिनावारीको अवधिमा विद्यालय नजाँदा पढाइमा कति ठूलो असर गर्छ । त्यो घटाउने खालको कार्यक्रम गर्नुपर्छ । पोषणको बिषय, शिशु विकासको बिषयलाई राम्रो नमूना बन्ने हिसाबले काम गर्नुपर्छ ।’
विपी कोइरालाले ७० बर्षअघि देखाएको मार्गचित्र अहिले पनि पछ्याइरहेको भन्दै उनले अब इतिहासबाट पाठ सिकेर २१ औं शताब्दीको नयाँ मार्गचित्र तयार गर्नुपर्ने तर्क गरे । ‘हामी अहिले पनि विपी भन्नुहुन्छ …… भनिरहेका छौं’, उनले भने, ‘अब काङ्ग्रेसले इतिहासमा टेकेर एक्काइसौं सताव्दीको समयानुकूल पुनर्चित्रण गरेर भविष्यको भिजन दिनसक्नुपर्छ । किनभने अहिलेका युवाहरुको हातहातमा स्मार्टफोन छ । भर्खरै डोनाल्ड ट्रम्पले के भने, इमानुयल माक्रोले फ्रान्समा के भने, मोदीले कर्नाटकको आमसभामा के भने भनेर गोरखाको डाँडामा बसेर जानकारी राख्ने युवापुस्तालाई कसरी उद्वेलित पार्ने ? युवा मतदाताको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै, सामाजिक सुदृढिकरणका लागि अघि बढ्नुपर्छ ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगकै अर्का उपाध्यक्ष गोविन्द पोखरेल लगायतले प्रशिक्षण दिएका थिए ।




