| शनिबार, कार्तिक २८, २०८३

आरुघाट, धार्चे र भीमसेन थापा गाउँपालिकाद्वारा निजीस्रोतका शिक्षकलाई तलबको ब्यबस्था

गोरखाको आरुघाट गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सबै विद्यालयका नीजिस्रोतका शिक्षकको तलब ब्यहोर्ने भएको छ । गाउँ शिक्षा ऐनबमोजिम कार्यविधि बनाएर सबै निजीस्रोतका शिक्षकको तलब ब्यहोर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

इसिडीका ४२ जना शिक्षकलाई यसअघि सरकारले दिदै आएको छ हजार रुपैयाँमा पाँच हजार थप गरी ११ हजार दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले जानकारी दिए । त्यस्तै प्राथमिक तहका शिक्षकलाई १४ हजार, निमावि तहका शिक्षकलाई १६ हजार र मावि तहका शिक्षकलाई २२ हजार रुपैयाँ दिने गाउँ कार्यपालिकाको नीति रहेको उनले बताए । पियनलाई पनि यसअघि खाईपाई आएको तलबमा दुई हजार थप गर्ने निर्णय भएको उनले बताए ।

यसरी भुक्तानी गर्दा गाउँपालिकाले एक बर्षमा एक करोड ३० लाख रुपैयाँ योगदान गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।
गाउँ शिक्षा ऐनमा नै सो सम्बन्धी ब्यबस्था गरी गाउँपालिकाले तलब दिएर नीजि स्रोतमा शिक्षक राख्न सुरु गरिएको गाउँ शिक्षा कार्यालयका प्रमुख विष्णु खनालले जानकारी दिए । ‘यो मस्यौदा अनुमोदन भई कार्यान्वयनमा आइसक्यो’, उनले भने, ‘पहिलो चरणमा दशैंअघि २० लाख रुपैयाँ निकासा भइसक्यो ।’

आरुघाट गाउँपालिकाभित्र प्राबि, निमावि र मावि तह गरी ४० वटा विद्यालय रहेका छन् । निजी स्रोतका शिक्षकको यथार्थ तथ्याङ्क नभएको उनले बताए । ‘यथार्थ तथ्याङ्क संकलनका लागि आइतबारबाट सघन अनुगमन सुरु गरिएको छ’, उनले भने, ‘कतिपय विद्यालयमा निजीस्रोतमा शिक्षक नभए पनि झुठो बिबरण पेश गरी रकम लगेको भेटिएको छ । त्यसैले सबै विद्यालयको अनुगमन गरी त्यस विद्यालयमा निजी स्रोतका शिक्षक आवश्यक छ वा छैन समेत हामी विश्लेषण गर्नेछौं ।’

कसैलाई जागिर खुवाउने उद्देश्यले मात्र नियुक्ति गरिएको भए त्यस्तो शिक्षकलाई खाँचो परेको ठाउँमा पठाउने उनले बताए ।
दरबन्दी मिलानको क्रममा निजीस्रोतका शिक्षक अझै ब्यबस्थित हुने उनले बताए ।

शिक्षा सरकारको दायित्व भएकाले स्थानीय स्रोतको शिक्षकको तलब स्थानीय सरकारले नै ब्यहोर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए । गाउँपालिका भित्रका निजीस्रोतका शिक्षकहरुको तलब असमान देखिएकाले एकरुपता कायम गर्न यस्तो निर्णय गरेको उनले बताए ।

‘यथार्थ अबस्था के छ भने, कतिपय विद्यालयहरुले सौचालय बनाउने भनेर, तारबार गर्ने, पर्खाल लगाउने भनेर पैसा लगेर स्थानीयस्रोतका शिक्षकको तलब खुवाइरहेका छन्’, अध्यक्ष दाहालले भने, ‘शिक्षा सरकारको दायित्व हो भने नीजि स्रोतका शिक्षकको तलब पनि सरकारले ब्यहोर्नुपर्छ ।

शिक्षकको तलब खुवाउनका लागि पनि विद्यालयलाई किन बिभिन्न बहाना बनाउन बाध्य बनाउने ? भन्ने ठानेर कार्यविधि बनाएर लागु गरिएको हो ।’
धार्चे गाउँपालिकाले पनि गाउँपालिकाभरि सञ्चालित २४ विद्यालयमध्य १८ वटा विद्यालयमा नीजि स्रोतका शिक्षक राख्न अनुदान दिएको छ । निजीस्रोतको शिक्षक ब्यबस्थापन शीर्षकमा गाउँपालिका ले एक करोड छ लाख रुपैयाँ बिनियोजन गरेको गाउँपालिकाका प्रशासकीय प्रमुख बाबुराम पाण्डेले जानकारी दिए ।
छ वटा मावि तहको विद्यालयका लागि १२ शिक्षक, चार वटा प्राबि तहको र पाँचवटा निमावि तहका शिक्षकलाई तबल ब्यहोर्ने गरी बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

प्राबितहका शिक्षकलाई १८ हजार, निमावि तहका शिक्षकलाई २० हजारका दरले र मावि तहका शिक्षकलाई २९ हजारका दरले तलबको ब्यबस्था गरिएको उनले बताए ।

इसिडीका सहयोगी कार्यकर्ताले खाईपाई आएको तलबभत्तामा तीनहजार रुपैयाँका दरले थप गरिएको उनले बताए ।
भीमसेन थापा गाउँपालिकाले पनि नीजि स्रोतका शिक्षक राख्नका लागि बजेट बिनियोजन गरेको छ । यसबर्ष निजी शिक्षक ब्यबस्थापन शीर्षकमा १५ लाख रुपैयाँ मात्र बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जानकारी दिए । यसलाई आगामि बर्ष पनि अझै निरन्तरता दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्