
सिंगुसले टोकेर पालुङटारमा ६ जना घाइते
गोरखाको पालुङटारमा सिंगुसले टोकेर ६ जना घाइते भएका छन् । पालुङटार वडा नम्वर ४ को अग्ला चिलाउने भन्ने जंगलमा गोठालो गएका उनीहरुलाई दिउँसो साढे १२ वजेतिर सिंगुसले टोकेको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ ।
उनीहरु सबै गाइवस्तु चराउन जंगल गएका थिए । घाइते भएकामध्ये पालुङटार ४ बस्ने ४१ वर्षकी निर्माला विक र सोही ठाऊँका ५५ वर्षका दिपक अधिकारीलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ । उनीहरु सबै उपचारपछि घर फर्केका इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ । गएको तीन वर्ष यता उक्त क्षेत्रमा धेरैलाई सिंगुसले चिलेको स्थानीय बासिन्दाले बताएका छन् ।
सिंगुस मौरी प्रजातीको किरा हो । यसले सिमलको रुख लगायतका अग्लो स्थानमा गोला बनाउने गर्दछ । सिंगसको महमा विशेष औषधीय गुण हुने विज्ञहरु बताउँछन् ।




