
बारपाक र लाप्राकको सीमा विवाद समाधान गर्न बसेको बैठक निष्कर्षविहिन
धार्चे र बारपाक सुलिकोट गाउँपालिकाको सीमा विवाद समाधान गर्न सदरमुकाममा बसेको बैठक बिना निष्कर्ष सकिएको छ । बारपाक र लाप्राकको सीमा विवाद समाधानका लागि जिल्ला समन्वय समितिमा आइतबार बसेको बैठक विना निष्कर्ष सकिएको हो ।
बैठकमा दुबै गाउँपालिका जनप्रतिनिधी सहित स्थानीयले आफ्नो भनाई राखेका थिए । तर विस्तृतमा छलफल आबश्यक भएकाले सोमबार विहान ८ बजे पुनः बैठक बस्ने निर्णय सहित आइतबारको बैठक टुंगीएको जिल्ला समन्वय समितिका अधिकृत हर्क रोकाले जानकारी दिए ।
सीमा विवादका कारण धार्चे गाउँपालिका प्रवेश गर्ने मुख्य सडकमा बारपाकका बासिन्दाले अवरोध गरेका छन् । सडककै कारण बारपाकको तसरा गाउँ खतरामा परेको बहाना बनाई बारपाकका बासिन्दाले सडक अवरुद्ध पारेका हुन् । बारपाकका बासीन्दाले लाप्राकीले कब्जा गरेको बारपाकको जमिन फिर्ता नगरेसम्म सडक अवरोध गर्ने बताएका छन् ।
जडिबुटी र खानेपानीको मुहान भएको हिमालको फेदीमा पर्ने रालाङ र सासिङ भन्ने ठाउँ लाप्राकीले कब्जा गरेका उनिहरुको आरोप छ । लाप्राकीले कब्जा गरेको ठाउँ नछाडेसम्म आफ्नो जमिन हुँदै जाने सडक अवरोध गरीरहने उनिहरुको भनाई छ । यहि विषयमा विस्तृतमा छलफल गर्न समन्वय समितिको अगुवाईमा बसेको बैठकले निचोड निकाल्न नसकेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, जिल्लाका सुरक्षा निकायका प्रतिनिधी, राजनैतिक दल लगायत सहभागी थिए ।




