
बारपाक–लाप्राक विवाद, धार्चे गाउँपालिका जाने मुख्य सडक मर्मत गर्न बारपाकीद्वारा रोक
धार्चे गाउँपालिका प्रवेश गर्ने मुख्य सडक मर्मत कार्य बारपाकका बासिन्दाले अबरोध गरेका छन् । बर्खामा बिग्रिएको सडक मर्मत हुन नसक्दा अहिले धार्चेसम्म चल्ने सबै सवारीसाधन अवरुद्ध भएको छ ।
सो सडकका कारण बारपाकको तसरा गाउँ खतरामा परेको बहाना बनाई बारपाकका बासिन्दाले सडक अबरुद्ध पारेका हुन् ।
मनसुन सकिएपछि गाउँजाने मुख्य सडक सफा गर्ने काममा पनि बारपाकका बासिन्दाले अबरोध गरेका धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ बताउँछन् । ‘मनसुन सकिएपछि सबै कच्ची सडक सफा गर्नू भनेर जिल्ला समन्वय समितिले आव्हान ग¥यो र हामीले गाउँपालिका प्रवेश गर्ने मुख्य सडक सफा गर्न बुधबार डोजर लगेका थियौं’, गुरुङले भने, ‘तर डेढदुईसय जना बारपाकी सडकमा भेला भएर बाटो छेके । बाटो छेकेनन् मात्र, डोजरका लागि लगिएको इन्धनको डूम खुकुरीले छप्काएर सबै नष्ट गरिदिए ।’
एनआरएनएद्वारा गुप्सीपाखामा एकीकृत बस्ती बनाउने काम पनि सडक अबरोधका कारण रोकिएको स्थानीय मार्सिङ गुरुङले बताए । ‘एनआरएनका अध्यक्ष हेलिकोप्टरमा आएर घर हस्तान्तरण गर्ने रे भनेर गाउँलेलाई गुप्सीमा बोलाए । हामी सयजना जति आएका थियौं । बैठक चल्दै थियो, बारपाकीहरु पूरै उल्टेर आए रे, धार्चे गाउँ पालिकाले सडक सफा गर्न ल्याएको डोजरलाई घेरा हाले रे । भन्ने खबर आयो । अनि हामी पनि सबै त्यतै गयौं’, गुरुङले भने, ‘उनीहरु झोलामा हातहतियार लिएर आएका रहेछन् । डोजरको तेल फाल्दिसकेका रहेछन् । हेर्दा सबैको हातहातमा लाठीमुङ्ग्री थियो । हाम्रो पक्षबाट जो बोल्यो, उसलाई घेरा हाल्ने, हुटिङ गर्ने, आतंकित गर्ने गर्न थाले ।’ वडा सदस्य रामबहादुर गुरुङमाथि सामान्य हातपात समेत गरेका उनले बताए । कुनै हालतमा पनि सडक मर्मत गर्न नदिने अडान लिएपछि आफूहरु गाउँ फर्किएको उनले बताए ।

बारपाकतर्फका संघर्ष समितिका संयोजक जीतबहादुर घलेले भने लाप्राकीले कब्जा गरेको बारपाकको जमिन फिर्ता नगरेसम्म सडक अबरोध गरिरहने जिद्दी गरे । ‘जडिबुटी र खानेपानीको मुहान भएको हिमालको फेदीमा पर्ने रालाङ र सासिङ भन्ने ठाउँ लाप्राकीले कब्जा गरेका छन्’, घलेले भने, ‘त्यो नछाडेसम्म हामी हाम्रो जमिन हुदै जाने सडक अबरोध गरिरहन्छौं । भलामचेत भनेर मुहान दर्ता गरेर हामीलाई जानकारी नै नदिई बारपाकतर्फ पर्ने भण्डारीपुक भन्ने ठाउँबाट पानी लगेका छन् । उनीहरुले मनलाग्दी हिसाबले जताततै झण्डा गाडेर सीमानामा मिच्ने काम नछोडेसम्म हामी पनि छोड्दैनौं ।’
यसअघि दुई गाउँपालिकाको सीमा विवाद समाधान गर्न सदरमुकाममा बसेको बैठक बिना निर्णय टुंगिएको थियो । बारपाक र लाप्राकको सीमा विवाद प्याकेजमा समाधान गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । ‘अल्पकालीन समस्या छिट्टै र दीर्घकालीन समस्या स्थलगत अध्ययन गरी समाधान गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि कात्तिक तीन गते सदरमुकाममा बैठक आव्हान गरेका छौं ।’




