| शनिबार, कार्तिक २८, २०८३

खानीगाउँबासिलाई गोरखा नगरपालिका ल्याउने तयारी

शिव उप्रेती ः धार्चे गाउँपालिका ७ खानीगाउँका बासिन्दालाई गोरखा नगरपालिका ८ कुवापानी(सिमलगैरी) ल्याउने तयारी गरिएको छ । २०७२ सालको भूकम्प र त्यसपछिको पहिरोका कारण बिस्थापित ११३ घरधुरीलाई आलेगाउँमा पुनस्थापित गराउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष गुरुङ, उपाध्यक्ष फूलमाया गुरुङ र वडा अध्यक्ष सूर्यमान गुरुङको रोहोबरमा गत बिहिबार बसेको बैठकले खानीगाउँलाई आलेगाउँमा स्थानान्तरण गर्ने निर्णय भएको उनले बताए ।
भूकम्पपछि हरेक बर्ष बर्खाका बेला गाउँमा पहिरो गएपछि गाउँले त्रसित भएर सुरक्षित बैकल्पिक बासस्थानको खोजीमा थिए । ‘यहाँका ११३ घरमध्य १८ घर पहिरोले लगिसकेको छ । ४० घर धेरै जोखिममा छ’ स्थानीय पुनराम गुरुङ भन्छन्, ‘बर्षेनी बर्खा लागेपछि गाउँलेहरु पानी पर्न थालेपछि भागाभाग हुन्छ । त्यसैले सुरक्षित बासस्थानको खोजी गर्दा गाउँपालिकाको अध्यक्षले गोरखा बजारभन्दा मुनिको गाउँमा ठाउँ छ, त्यहीँ जाने भन्नुभयो । अनि हामीले पनि सहमति जनायौं ।’ तर गोरखा नगरपालिकामा घर अट्ने घडेरीबाहेक खेती गर्ने जग्गा जमिन नपाउने भन्दै स्थानीयबासी पिरोलिएका उनले बताए ।
‘बास भएर मात्र भएन, गाँस र घाँस पनि चाहिन्छ भन्ने कुरा पनि छ गाउँलेहरुको’, यनले भने, ‘हामीसंग त थुप्रैथुप्रै भेँडाबाख्रा पनि छ । गाईबस्तु पनि छ । तिनलाई के गर्ने ? हामी अन्यौल भएका छौं ।’ आफ्नै बारीमा गौ, जौ उत्पादन गरेर खाने बानी परेका गाउँले गोरखा बजारको साँगुरो जग्गामा के काम गरेर आफ्नो र परिबारको पेट पाल्ने भन्ने पिरलो पनि भएको उनले बताए । ‘११३ घरबाट प्रत्येक घरका कम्तीमा चार जनाका दरले पनि चारपाँचसय जना मान्छे जाने भनेपछि त गुटुटु भेँडाबाख्रा झैं जाने होला’, उनले भने, ‘गएको भोलिपल्टदेखि उनीहरुले के खाने ? के काम गर्ने ? जाने भनेर निर्णय त गरियो तर निर्णय गरेदेखि गाउँलेमा यही चिन्ता छ । जाने कि बस्ने ? कि छ महिना गाउँमा छ महिना बजारमा बस्ने कि भन्ने बहश पनि चल्न थालेको छ ।’ गोरखा नगरपालिका नजाने हो भने पहिरो वा प्राकृतिक प्रकोपमो क्षति भएमा गाउँपालिकासंग गुहार नगर्न गाउँपालिकाले सचेत गराएको उनले बताए ।
खानीगाउँका बासिन्दालाई प्रति धुरी पाँच आनाका दरले जग्गा दिने बारे छलफल भएको सिमलगैरीका प्रेमध्वज थापाले जानकारी दिए । स्थानीय १८ घरधुरीले मिलाएर २० रोपनी जग्गा दिने बारे अन्तिम तयारी भएको उनले बताए । केही दिनपछि बैठक बसेर जग्गा दिने बारे औपचारिक निर्णय गरेको उनले बताए । बाँझो बसेको सो जग्गालाई गुल्जार गर्नका लागि जग्गा दिन लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्