
सिडियोले सोधे : गोरखा अस्पतालमा सधै एम्बुलेन्सको माला किन ?
शिव उप्रेती
गोरखा : ‘म प्राय ठूलोआँगन, जिल्ला स्वास्थ्य कार्यालय, गोरखा अस्पतालको बाटो मर्निङवाक हिड्छु । र जहिले पनि गोरखा अस्पताल वरिपरि एम्बुलेन्सको लर्कन देख्छु’, एम्बुलेन्स संचालक संस्थाका पदाधिकारी तथा एम्बुलेन्स चालकहरुको भेलामा बोल्दै गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सोधे, ‘आखिर गोरखा अस्पताललाई एम्बुलेन्सको माला किन ? के सबै एम्बुलेन्सहरु गोरखा अस्पतालबाट चल्ने भनेर अनुमति लिइएको थियो कि ? होइन भने जहाँका लागि भनेर अनुमति लिइएको थियो, त्यहाँ किन राखिएन ? किन सबै एम्बुलेन्स गोरखा अस्पताल वरिपरि थुप्रिए ?’
जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले आयोजना गरेको सरोकारवालाहरुसंगको छलफल कार्यक्रममा जिल्ला एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष समेत रहेका प्रजिअ लामिछानेले अनुमति लिँदा गरेको प्रतिवद्धता बेगर अनाधिकृत रुपमा एम्बुलेन्स चलेको पाइए कारबाही गर्ने चेतावनी दिए । ‘भीमसेन स्मृति प्रतिष्ठान भन्ने संस्थाले सञ्चालन गरेको एम्बुलेन्स चितवनतिर बिक्री भएको छ भन्ने सुन्नमा आएको छ । कुनै एम्बुलेन्स ठेक्कामा चलेका छन् भन्ने सुनेको छु’, उनले भने, ‘यी सबैको छानबीन गर्न समिति गठन गरिएको छ । यसको पुष्टि भयो भने क्षेम्य हुनेछैन । हामी कारबाही गर्नेछौं ।’
जिल्लामा ३३ वटा एम्बुलेन्स चलेको तर सेवा भने ट्याक्सीले दिनुपरेको भन्दै उनले एम्बलेन्सको बेथितिप्रति चिन्ता ब्यक्त गरे । ‘नवलपरासी जिल्लामा पाँचलाख जनसंख्या छ । त्यहाँ जम्मा आठवटा एम्बुलेन्स चलेका छन् । गोरखामा तीनलाख जनसंख्या छ तर ३३ वटा एम्बुलेन्स चलेका छन् तैपनि बिरामीहरु ट्याक्सी बाट एम्बुलेन्सको सेवा लिन बाध्य छन्’, उनले आक्रोश पोखे, ‘कहाँनेर समस्या भएको छ ? हामी पत्ता लगाएर कारबाही गर्नेछौं ।’

कार्यक्रममा भीमसेन स्मृति प्रतिष्ठान छोप्राकको नाममा रहेको एम्बुलेन्स चितवनको चण्डी भन्ज्याङमा बिक्रि गरेको, बुङ्कोट स्वास्थ्य चौकीको नाममा रहेको एम्बुलेन्स चालक गोपालमान श्रेष्ठलाई ठेक्कामा चलाउन दिएको र गोनपा ११ चौधकिलोस्थित मिलीजुली महिला समूहले सञ्चालन गरेको एम्बुलेन्स ठेक्कामा लगाएको विषयमा छलफल भएको थियो । कार्यक्रममा जुन ठाउँमा सञ्चालनका लागि दर्ता भएको त्यहि चल्नुपर्ने, एम्बुलेन्समा हुनुपर्ने आबश्यक उपकरणको ब्यबस्था गर्नुपर्ने, एम्बुलेन्समा प्राथमिक उपचार गर्न सक्ने जनशक्ति सहित प्राथमिक उपचारका सामाग्रीको ब्यबस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ ।
चालकले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाएको गुनासो आएकाले टूाफिक प्रहरीले छड्के जाँचलाई तिब्रता दिने विषयमा पनि छलफल भएको नेपाल रेडक्रस सोसाईटीका कार्यालय सचिव सुवास घिमिरेले जानकारी दिए ।

एम्बुलेन्स चालकहरुले पारिश्रमिकमा समानता कायम गर्नुपर्ने माग गरेका थिए । कार्यक्रममा सहभागी एम्बुलेन्स सञ्चालक र चालकलाई टूाफिक नियम र एम्बुलेन्सका मापदण्ड तथा सञ्चालन विधिका विषयमा प्रशिक्षण दिईएको थियो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज खडका र टूाफिक प्रहरीका इन्चार्ज शुकबहादुर विकले सहभागीलाई प्रशिक्षण दिएका हुन् ।
कार्यक्रममा उठेका सवालहरु जिल्ला एम्बुलेन्स सेवा सञ्चालक समितिको बैठकमा छलफल गरेर आबश्यक निर्णय गर्ने कार्यक्रमले निष्कर्ष निकालेको छ । नेपाल रेडक्रस सोसाईटी गोरखाका अध्यक्ष भगवानबाबु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक प्रकाश भुषाल, उद्योग वाणिज्य संघका वरीष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




