| शनिबार, कार्तिक २८, २०८३

गोरखाका एम्बुलेन्स सञ्चालनमा बेथिति कुनै बिक्री कुनै ठेक्कामा

 

जिल्लाका केही एम्बुलेन्सहरु अनाधिकृत रुपमा सञ्चालनमा रहेको गुनासो बढ्न थालेपछि सोमबार जिल्ला एम्बुलेन्स सेवा सञ्चालक समितिको बैठक बसेको छ ।

बैठकमा भीमसेन स्मृति प्रतिष्ठान छोप्राकको नाममा रहेको एम्बुलेन्स, बुङ्कोट स्वास्थ्य चौकीको नाममा रहेको एम्बुलेन्स र गोनपा ११ चौधकिलोस्थित मिलीजुली महिला समूहले सञ्चालन गरेको एम्बुलेन्स अनाधिकृत रुपमा सञ्चालनमा रहेको बारे छलफल भएको थियो । ‘भीमसेन स्मृति प्रतिष्ठानले छोप्राकमा रहेर सञ्चालन गर्ने भनेर एम्बलेन्स सञ्चालन गरेको हो, तर लामो समयदेखि विवादित बन्यो’, उनले भने, ‘त्यसपछि हामीले विधिवत रुपमा सञ्चालन गर्न भनेर बारम्बार पत्राचार ग¥यौँ । विधिवत रुपमा त चलेन नै बरु अहिले चितवनको चण्डीभञ्ज्याङतिर बिक्री भएको भन्ने बारे बैठकमा समीक्षा भएको थियो ।’

बुङ्कोट स्वास्थ्यचौकीको नाममा रहेको एम्बुलेन्स पनि चालक गोपालमान श्रेष्ठलाई ठेक्कामा चलाउन दिएको पाइएको छ । मासिक छ हजार रुपैयाँमा स्वास्थ्यचौकीले चालक श्रेष्ठलाई ठेक्कामा लगाएको बारे बैठकमा समीक्षा भएको बैठकका सहभागी खड्काले जानकारी दिए ।
मिलीजुली महिला समूहले पनि चालकलाई एम्बुलेन्स ठेक्कामा लगाएको उनले बताए ।

जिल्लाका बिरामीलाई सेवा दिनका लागि भनेर राजस्व सहुलियतमा एम्बुलेन्स ल्याउने र बिक्री गर्ने तथा ठेक्कामा लगाउने गरेकोप्रति बैठकमा गम्भीर ध्यानाकर्षण भएको एम्बुलेन्स सेवा सञ्चालन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । ‘केही एम्बुलेन्स अनाधिकृत रुपमा सञ्चालन हुने गरेको जानकारी आएपछि बैठक बसेको छ’, प्रजिअ लामिछानेले भने, ‘यसको बारेमा अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा छ सदस्यीय अध्ययन समिति बनेको छ । यो समितिले अध्ययन गरी सातदिनभित्र प्रतिवेदन पेश गरेपछि कारबाही प्रक्रिया अघि बढ्नेछ ।’

कतिपय एम्बुलेन्समा आधारभूत आबश्यकताका उपकरण अक्सिजन, प्राथमिक उपचारका सामग्रीहरु, स्टूेचर पनि नभएको गुनासो आएको उनले बताए । कतिपय एम्बुलेन्सको बिलबुक नविकरण पनि नगरिएको, मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने गरेको गुनासो आएको उनले बताए ।

गोरखामा हाल ३० वटा एम्बुलेसन्सले सञ्चालन अनुमति लिएका छन् । तर सञ्चालन गर्ने अनुमति पाएका स्थलमा सञ्चालन नगरी अन्यत्र सञ्चालन हुने गरेको, आवश्यक परेका बेला एम्बुलेन्स नपाएकाले बिरामीहरुले ट्याक्सीबाट सेवा लिने गरेको बारे पनि बैठकमा समीक्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्