| शनिबार, कार्तिक २८, २०८३

लुइँटेल–भच्चेक सडकको ठाउँठाउँमा पहिरो, मर्मतको काम भइरहेको कार्यालयको भनाइ

 

किरण लोहनी :

गोरखाको लुईटेल भञ्ज्याङ भच्चेक सडकको ठाउँठाउँमा गएको पहिरो पन्छाएर मर्मतको काम थालिएको छ । गत जेठमा कालोपत्रे सकिएको सो सडकखण्ड को विभिन्न ठाउँमा पहिरो गएको थियो ।
सानाठूला गरी ५० देखि ६० वटासम्म पहिरो गएको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईका इन्जिनियर शैलेन्द्र भट्टले बताए । साना पहिरो पन्छाउने काम सकिएपनि सडक भासिएका ठाउँमा मर्मतको काम चलिरहेको उनको भनाई छ ।
उक्त सडकखण्ड अन्तर्गतको बोहोरागाऊँ, आँपपिपल र थुम्कीमा भने सडकनै भासिएको छ । त्यसमध्ये बोहोरागाउँमा सडक भासिएको ठाउँमा टेवा पर्खाल लगाउने काम भैरहेको भट्टले जानकारी दिए । बोहोरागाउँ नजिकै सडक भासिएपछि सवारी आवागमननै अवरुद्ध भएको छ । करीव एक सातादेखि सवारी साधन आउजाउ गर्न नसक्ने गरी सडक भासिएपनि मर्मत भने सन्तोषजनक गतिमा नभएको स्थानीय रमित ढकालले बताए ।
दशैं अघिनै यातायातका साधन आउजाउ गर्न सक्ने गरी सडक मर्मतको काम चलिरहेको इन्जिनियर भट्टले जानकारी दिए । आँपपिपल नजिकै र थुम्कीमा भने सडक भासिए पनि सडकनै अवरुद्ध भने भएको छैन । उक्त ठाउँमा वर्षा सकिएपछि मर्मत हुने उनको भनाइ छ । सडक मर्मतका लागि पुननिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले २ करोड ३ लाख रुपैया छुट्याएको छ ।


एशियाली विकास बैङ्क एडिविको आर्थिक सहयोगमा लुईटेल भञ्ज्याङदेखि नयाँगाउँसम्मको करीव ३० किलोमिटर सडक स्तरोन्नति गरिएको थियो । गत जेठ महिनामा सडक कालोपत्रेको काम सकिए पनि त्यस लगत्तै ठाउँठाउँमा पहिरो जान थालेपछि स्थानीय बासिन्दा चिन्तित छन् ।
सडक निर्माण गर्दा पुरिएको ठाउँमा राम्ररी सेट हुन नपाउँदै कालोपत्रे गरेका कारण कालोपत्रे हुनेबित्तिकै पहिरो गएको स्थानीयबासीको गुनासो छ । पहिरो मर्मत तथा उकास्के काम पनि कमजोर सतहमै भएकाले फेरि पनि पहिरो जान सक्ने उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्