
बिभिन्न कार्यक्रम गरी गोरखामा संविधान दिवस मनाइयो
अनुपमा खनाल :
गोरखामा विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाइएको छ । जिल्ला स्तरको संविधान दिवस मुल समारोह समितिका साथै अन्य संघ संस्थाले दिवसका अबसरमा विभिन्न कार्यक्रम गरेका हुन् ।
मुल समारोह समितिको आयोजनामा गोरखा सदरमुकाममा प्रभातफेरि भएको छ । ठुलो आँगनबाट सुरु भएको प्रभातफेरिका सहभागीहरुले गोरखा उद्योग वाणिज्य संघको ब्यवस्थापनमा तयार पारिएको ठूलो राष्ट्रिय झण्डा र गोरखा नगरपालिकाको ब्यवस्थापनमा तयार पारिएको कागजका साना राष्ट्रिय झण्डाहरु बोकेका थिए ।
यस्तै गोरखा चेम्बर अफ कमर्शले पन्चेबाजा र आदिवासी जनजाति महासंघले झाँकीको ब्यवस्थापन गरेको थियो ।
प्रभातफेरिपछि जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा नेपाल बार एशोसिएसन गोरखाले संविधानका विभिन्न विषयमा दुई वटा कार्यपत्र प्रस्तुत गरेको थियो । यस्तै गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा गरेका अनुकरणीय कामहरुबारे जानकारी गराएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले भिमसेन पार्क र गोरखा गेट निर्माण, स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरुलाई नगरपालिकाले गरेका अनुकरणीय कामका रुपमा चर्चा गरिन् । कार्यक्रमका बक्ताहरुले संविधानले परिकल्पना गरेको जनताका अधिकार सुनिश्चित गर्न सकेमात्र संविधान दिवसले सार्थकता पाउने बताएका छन् । संविधानको पालना गर्नका लागि सबै राजनीतिक दल, सरकार नागरिक दृढ हुनुपर्ने उनीहरुको भनाई छ । संविधान दिवस जिल्ला समारोह समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका यादव वस्नेत, नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
संबिधान दिवसको अबसरमा लक्ष्मीबजारदेखि हरमटारीसम्म दौड प्रतियोगिता भएको छ । लियो क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगितामा हर्मीका सन्दिप ढकाल पहिलो भएका छन् । निर्धारित चार किलोमिटर दुरी उनले १९ मिनेट २० सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा निर्धारित दुरी १९ मिनेट ५४ सेकेण्डमा पारी गरी सुरज भण्डारी दोस्रो र नारेश्वरका सो दुरी २० मिनेट आठ सेकेण्डमा पार गरी रन्जित अधिकारी तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ः नगद पाचँ हजार, तीन हजार र एक हजार पाचँ सय रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् ।

क्लबका अध्यक्ष बिदुर बल्लभ भट्टराईको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । प्रतियोगितामा ४१ जना सहभागि थिए ।
दिवसको अवसरमा लायन्स क्लब अफ गोरखा सिटीले गोरक्षनाथ बैदिक गुरुकुलका छात्रहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । गुरुकुलमा औपचारिक कार्यक्रमका साथ क्लबले खाद्यान्न हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरक्षनाथ बैदिक गुरुकुल ब्यबस्थापन समितिका पुरुषोत्तम अर्याल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




