
स्थानीयको पहलमा खोपीधारामा पार्क निर्माण
स्थानीय बासिन्दाको पहलमा गोरखा नगरपालिका ६ को तीनधारेमा खोपीधारा पार्क निर्माण भएको छ । फेसबुक अभियान मार्फत रकम जुटाएर गोरखा नगरपालिकाको तीनधारेमा आकर्षक र सुविधासम्पन्न पार्क निर्माण गरिएको छ । सोमबार गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पार्कको उद्घाटन गरे ।
ठूलो आँगन क्षेत्रमा घरभै हङकङमा बसोबास गर्ने रञ्जितकुमार श्रेष्ठ एवम् काठमाण्डौंमा बस्दै आएका गीतकार राजुबाबु श्रेष्ठको सक्रियतामा संकलन भएको दश हजार ५३ हजार रुपैयाँको लागतमा पार्क बनेको हो । पार्क निर्माणका लागि ६० बोरा सिमेन्ट, ६० थान काठ, दुई थान फलामे पोल पनि सहयोग प्राप्त भएको पार्क उद्घाटन कार्यक्रममा जानकारी दिईएको छ ।
तीनधारे खानेपानी आयोजनाको मुहान नजिकैको खाली जमिनलाई पार्कका रुपमा विकास गरिएको हो । कामको सिलसिलामा अन्यत्र पुगेपनि आफ्नो जन्मथलोको विकासका लागि आफुहरु सक्रिय भएको अभियन्ता राजुबाबु श्रेष्ठले बताए । ‘हामी कामका लागि देश विदेशमा छरिएका छौं’ उनले भने ‘हाम्रो बालापन, हाम्रो जन्मथलो हामीले कहिल्यै भुलेका छैनौं, त्यसकै उदाहरण यो पार्क हो ।’
पार्कमा किरियापुत्री कक्ष, शौचालय बनाईएको छ । आरामदायी कुर्सीहरु राखिएको छ । साना खालका बोटविरुवा र फूलहरु रोपिएको छ । उच्च रक्तचाप भएकाहरुलाई फाइदा पुग्ने गरि छुट्टै संरचना पनि बनाइएको श्रेष्ठले जानकारी दिए । ‘हामीले यहाँ प्रेसर पथ बनाएका छौं’ उनले भने ‘हाम्रा बा आमाहरु यहाँ आएर आराम गर्न सक्नुहुन्छ । भलाकुसारी गर्न सक्नुहुन्छ । हामीले बृद्धबृद्धाको विश्रामस्थलको अवधारणा अनुसार यो पार्क बनाएका हौं ।’
पार्कमा फ्रि वाईफाईको ब्यवस्था गर्ने सोच रहेको उनले बताए । पार्क सगैंको खाली जग्गामा हरित पार्क निर्माण गर्ने लक्ष्य अनुसार काम सुरु भैसकेको उनले जानकारी दिए । ‘हरित पार्कका लागि अर्थ संकलन शुरु भैसकेको छ । पुर्वाधार निर्माणको क्रम पनि सुरु हुदैछ।’ पूर्व प्रहरी समेत रहेका गीतकार श्रेष्ठले भने । गोरखा नगरपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेयर पन्त, गोरखाका प्रहरी प्रमुख एसपि ओम अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




