
हुँदै नभएको कार्यालयको सुविधासम्पन्न भवन
किरण लोहनी ः गोरखामा खारेज भैसकेको कार्यालयको भवन निर्माण भएको छ । साविकको जिल्ला भूसंरक्षण कार्यालयको लागि गोरखा नगरपालिका ९ ठिंगुरेस्वाँरामा भवन निर्माण गरिएको हो । उक्त कार्यालय २०७४ चैत २८ गते खारेज भैसकेको छ । गोरखा–आँबुखैरेनी सडकखण्ड अन्तर्गत ठिंगुरेस्वाँरामा कार्यालयको साढे दुई तले भवन निर्माण भएको हो । दुई तल्ला कार्यालय र माथिल्लो तल्ला कार्यालय प्रमुखको आवास कक्षका रुपमा प्रयोग हुने गरि भवन बनाइएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले जनाएको छ । प्राधिकरणले जिल्लाका पाँचवटा कार्यालयको भवन निर्माण गर्ने क्रममा भूसंरक्षण कार्यालयको पनि नायँ भवन बनेको हो । खारेज हुने निर्णय हुनुभन्दा पहिलेनै ठेक्का सम्झौता भएकाले निर्माण अघि बढाइएको भवन अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
प्राधिकरणले एकै प्याकेजमा ठेक्का लगाएर भूसंरक्षण सहित जिल्ला सरकारी वकिल, राष्ट्रिय अनुसन्धान, कृषि र हुलाक कार्यालयको भवन निर्माण गरेको हो । पाँचवटै भवन निर्माणका लागि रवीना, डाँफे ड्रागन जेभी नामको कम्पनीसँग सन् २०१७ को मे २१ तारिखमा ठेक्का सम्झौता भएको जिल्ला आयोजना कार्यानवयन इकाई भवनकी प्रमुख सुनीता श्रेष्ठले बताइन् । सबै भवन निर्माणको कुल लागत १८ करोड १७ लाख रुपैया रहेको उनको भनाई छ । पाँचवटामध्ये साविकको जिल्ला कृषि विकास कार्यालय पनि संघीयतासँगै खारेजीमा परेको छ । तर साविकको कृषि कार्यालयको भवनमा गण्डकी प्रदेश सरकारको कृषि ज्ञानकेन्द्र नामको कार्यालय स्थापना गरिएको छ ।
‘निर्माण पूरा भएपछि कृषिको भवन ज्ञानकेन्द्रलाईनै हस्तान्तरण गर्ने कुरा छ’ उनले भनिन्, ‘सरकारी वकिल, अनुसन्धान र हुलाक कार्यालय त यथावत छँदै छन् ।’ निर्माण पूरा भएपछि अरु कार्यालय कसलाई हस्तान्तरण गर्ने भन्नेमा समस्या नभएपनि भूसंरक्षण कार्यालयको हकमा भने प्राधिकरणबाट आएको निर्देशन अनुसार गरिने उनको भनाई छ । पुननिर्माण प्राधिकरणले भने कुनै न कुनै रुपमा उक्त भवन प्रयोगमा आउने बताएको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य हरेराम पराजुलीले भने, ‘त्यत्रो भवन बनिसकेको छ, सरकारी सम्पत्ति हो, कुनै न कुनै सरकारी कार्यालयले त्यसलाई उपयोग गर्न सक्छन् ।’ भवन निर्माण पूरा नहुँदै विभिन्न कार्यालयले आफ्ना लागि भवन माग गर्न थालिसकेका जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।




