
शहिद लखन गाउँपालिकाले दुई लाखभन्दा कम बजेटका योजना नबनाउने
किरण लोहनी :
गोरखाको शहिद लखन गाउँपालिकाले दुईलाख रुपैयाभन्दा कम लागतका योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन नगर्ने भएको छ । टुक्रे योजनाले परिणाममुखी काम हुन नसक्ने भन्दै चालु आर्थिक बर्षदेखि दुई लाख रुपैयाभन्दा कम बजेटका योजना नबनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।
गाउँपालिकाले गत आर्थिक वर्ष गरेका कार्यक्रमको समीक्षा तथा चालु आर्थिक वर्षका कार्यक्रमबारे जानकारी दिन शनिवार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उनले साना योजनामा वजेट छर्दा परिणाम नआएकाले वजेटको सीमा निर्धारण गरिएको बताए । गाउँकार्यपालिकाले गरेको यो निर्णय चालु आर्थिक वर्षबाटै कार्यान्वयन हुने अध्यक्ष थापामगरको भनाई छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी पालिकाका बासिन्दाले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त वजेट विनियोजन नभएको, कतिपय योजनाको काम पारदर्शी नभएको, पालिकाभर गठन भएका टोल विकास संस्थाको भूमिका स्पष्ट नभएको लगायतका विषयमा पालिकाको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै ढुंगागाडे, बुंकोट, नामजुङ हुँदै घैरुङसम्मको सडक स्तरोन्नतिका लागि पहल गर्न, महिला समूह र सहकारी लक्षित कार्यक्रममा लगानी बढाउन, एम्बुलेन्स सेवालाई सहज बनाउन, नदीजन्य सामग्रीको दोहन हुन नदिन पनि सहभागीहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । त्यस्तै सडक निर्माण लगायत विकासका काम गर्दा भूक्षय तथा पानीका मुहानको विनाश हुन नदिन पनि उनीहरुले पालिकालाई आग्रह गरेका छन् ।
योजना कार्यान्वयन प्रभावकारी नहुँदा गत आर्थिक बर्ष बजेट फिर्ता गएको भन्दै उनीहरुले यो वर्ष त्यस्तो हुन नदिनका लागि बेलैमा योजनाको कार्यान्वयन थाल्न ध्यानाकर्षण गराएका छन् । सार्वजनिक कार्यक्रमका सहभागीहरुले कतिपय अवस्थामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत एकसाथ कार्यालयमा उपस्थित नहुने गरेको गुनासो गरेका थिए । कृषि र पशुपालनको अनुदान एकै ब्यक्तिले दोहो¥याएर पाउने गरेको भन्दै त्यस्ता निर्णय आगामि दिनमा हुन नदिन पनि सहभागीहरुको सुझाव छ ।
केही सहभागीहरुले भने गाऊँमा बाँदरको आतंक बढेको भन्दै त्यसको रोकथामका लागि प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा सहभागीहरुले उठाएका सवालको पालिका अध्यक्ष रमेश थापामगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगर र सम्बन्धित वडाका अध्यक्षहरुले जवाफ दिएका थिए । सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष थापामगरले गत आर्थिक वर्ष नेपाल सरकारको सशर्त अनुदानतर्फ ८९ प्रतिशत रकम खर्च भएको बताए ।
चालु आर्थिक वर्ष ५९ करोड ६२ लाख रुपैया वजेट विनियोजन भएको उनले जानकारी दिए । वर्षाका कारण बिग्रिएका ग्रामीण सडक मुख्य चाडपर्व अघि नै मर्मत गरिसक्ने थापामगरको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बाँदर नियन्त्रणका लागि विज्ञहरुसँग छलफल गरिने जानकारी दिए ।
गाउँपालिकाको केन्द्र घैरुङमा भएको सार्वजनिक सुनुवाईमा सरोकारवालाको सहभागीता रहेको थियो ।




