| आइतवार, कार्तिक २९, २०८३

यसबर्ष पनि दशैमेलाका विषयमा किचलो सुरु

गतबर्षजस्तै यसबर्ष पनि गोरखा च्याम्बर अफ कमर्सले आयोजना गर्न लागेको दशैं मेलाका बारेमा किचलो सुरु भएको छ । गोरखा च्याम्बर अफ कमर्सले आयोजना गर्न लागेको दशै मेला आउन २० दिन बाँकी रहेका बेला गोरखा जिल्ला फुटवल संघ(एन्फा)ले आयोजना स्थल हरमटारीको खेलमैदानमा मेला हुन नदिने भन्दै किचलो सुरु गरेको हो ।

गोरखा नगरपालिका र जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयमा ध्यानाकर्षण पत्र पेश गर्दै एन्फा गोरखाले सो मैदानमा मेला गर्न नदिन माग गरेको हो ।

बिगत बर्षमा पनि मेला गरेको च्याम्बरले यसबर्ष असोज ८ गतेदेखि मेला आयोजना गर्ने तयारी गरेको थियो । तर एन्फाले मैदानमा निर्माण गर्दै गरेको संरचना बिग्रने तर्क गर्दै मेला नगर्न आग्रह गरेको हो ।

केहीदिन अघि सप्ताह महायज्ञ आयोजना गर्न लागेको फेस मिडियालाई भने एन्फाले रोकतोक गरेको थिएन । तर मेलाको तयारी भइरहेका बेला खेलकुद बाहेकका अन्य गतिविधि खेलमैदानमा हुन नदिन एन्फा गोरखाले प्रशासन र नगरपालिका गुहारेको हो ।

चालु आर्थिक बर्ष एन्फा र गोरखा नगरपालिकासंँग पाँच÷पाँच लाख रुपैयाँ र जनश्रमदान समेत गरी १२ लाख ३४ हजार रुपैयाँको लागतमा मैदान संरक्षणका लागि तारबार गरिएको एन्फाले जनाएको छ । तारबार हटाएर मेला महोत्सव गर्दा मैदान संरक्षणका लागि गरिएको प्रयास निरर्थक बन्ने भन्दै संघले मैदानमा खेलकुद बाहेकका गतिविधि गर्न नदिन ध्यानाकर्षण गराएको हो ।

खेलमैदान जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा छ । समितिले एन्फा गोरखालाई सो खेलकुद मैदान २० बर्षसम्म प्रयोग गर्न २०७५ साल जेठ १५ गते सम्झौता गरेको थियो । सोही आधारमा एन्फाले मेलाका लागि खेल मैदान प्रयोग गर्न नपाइने बताएोे हो ।

एन्फाले खेल प्रशिक्षण, खेल सञ्चालन, खेल मैदान मर्मत सम्भार तथा मैदानमा नयाँ संरचना निर्माण गर्न पाउने गरी समिति र एन्फा बीच सम्झौता भएपनि मैदानमा अन्य गतिविधि हुँदा खेलकुदका कार्यक्रम प्रभावित हुने संघका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘मेला महोत्सव, जात्रा, आमसभा, धार्मिक कार्यक्रम गर्ने थलोका रुपमा मैदान प्रयोग हुनु भएन’, उनले भने, ‘खेलकुद मैदानमा खेलकै कार्यक्रम हुनुपर्छ । मेला महोत्सव जात्रा गर्न अन्य ठाउँको खोजी गर्नुपर्छ ।’ संघको आयोजनामा भदौ ३० गतेबाट ग्रास रुट फुटवल लिग पनि हुने भएकाले अन्य कार्यक्रमले खेलकुदका कार्यक्रम प्रभावित हुने भन्दै संघले असन्तुष्टि जनाएको छ ।

‘खेल मैदानमा दशैं मेला भए अहिले हरेक दिन भएको ग्रासरुटको तालिम पनि प्रभावित हुन्छ’, उनले भने, ‘हामीले एन्फाको कार्यक्रम अनुसार लिग पनि गर्नुपर्नेछ । खेलकुद मैदानमा खेलकुदका कार्यक्रम रोकेर मेला महोत्सव जात्रा गर्नु कत्तिको जायज हो ?’ अबदेखि मैदानमा खेलकुद बाहेकका अन्य गतिविधि गर्न नदिन संघले माग गरेको हो ।

गोरखा चेम्बर अफ कमर्सले भने मैदानमा दशैमेला गर्नका लागि जिल्ला खेलकुद विकास समितिसँग अनुमति लिईसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले यस विषयमा छलफलबाट नै निकास निकाल्नु पर्ने भएकाले आबश्यक समन्वय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्