
अवरुद्ध भएको ४४ घण्टापछि गोरखामा विद्युत सेवा सुचारु
अवरुद्ध भएको ४४ घण्टापछि गोरखामा विद्युत सेवा सुचारु भएको छ । गत सोमबार साँझदेखि अबरुद्ध भएको विद्युत बुधबार दिउसोदेखि सुचारु भएको विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्रले जनाएको छ ।
गोरखा बजारमा रहेको ३३ केभी प्रशारण लाइनको सबस्टेशनको मुख्य ट्रान्सफर्मर मर्मतपछि सेवा सुचारु भएको केन्द्रका सूचना अधिकारी कृष्ण कँडेलले जानकारी दिए । ‘प्राधिकरणको पोखरा ग्रिडका प्राविधिक, मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाका प्राविधिक र हाम्रो गोरखा वितरण केन्द्रका प्राविधिकहरुको निरन्तरको प्रयासपछि समस्या पत्ता लाग्यो । अनि साँढे दुईबजेदेखि विद्युत सुचारु गरियो’, उनले भने, ‘पावर ट्रान्सफर्मरको ३३ केभीको वाण्डिङ र बडी परस्पर नजिक भएपछि समस्या भएको थियो । त्यो समस्या समाधान भएपछि सुचारु भइहाल्यो ।’
गत सोमबार साँझ अचानक हावाहुरी र चट्याङ परेपछि विद्युत सेवा अवरुद्ध भएको थियो ।
लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुँदा गोरखाका पत्रपत्रिका, एफएम रेडियोहरु बन्द भएका थिए । कम्प्युटरबाट सेवा प्रबाह गर्ने कार्यालयको काम प्रभावित भएको थियो । त्यस्तै गोरखा नगरपालिका, भीमसेनथापा गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाका २० हजार घरधुरीका बासिन्दा विद्युत सेवाबाट बञ्चित भएका थिए ।




