| आइतवार, कार्तिक २९, २०८३

एनआरएनएले गोरखाको लाप्राकमा सम्झौता अनुसार काम गरेन ः प्राधिकरण

किरण लोहनी :

लाप्राकको गुप्सीपाखाको नमुना बस्ती हस्तान्तरण अघि सम्झौतामा उल्लेख भएका सबै पूर्वाधार निर्माणको काम सक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ध्यानाकर्षण गराएको छ । एकीकृत बस्ती निर्माणको काम गरिरहेको गैरआवासीय नेपाली संघ एनआरएनलाई पत्र लेख्दै प्राधिकरणले सम्झौतामा उल्लेख भएका सबै पूर्वाधार निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।

प्राधिकरणका कार्यकारी समिति सदस्य ध्रुव शर्मा नेतृत्वको टोलीले गएको असार १८ गते बस्ती निर्माणको स्थलगत अवलोकन गरेको थियो । सो क्रममा स्थानीय बासिन्दासँग गरिएको छलफललाई समेत आधार मानेर नौ बुँदे ध्यानाकर्षण पत्र पठाइएको प्राधिकरणको आवास तथा बस्ती विकास शाखाका सिनियर डिभिजनल इन्जिनियर राजकाजी श्रेष्ठले बताए । प्राधिकरणको पत्रमा बस्ती आसपासको आकाशे पानी, धाराको पानी र भान्छामा प्रयोग भएको पानीको दीर्घकालीन ब्यवस्थापन गर्न, बस्ती बीचमा बन्न लागेको सडकमा नाला र ढलको ब्यवस्थापन गर्न र शौचालय निर्माणमा थप ध्यान दिन सुझाव दिएको छ ।

‘एकदेखि अर्को घरको विचमा ट्वाइलेटको सेफ्टिट्याङ्क बनाइएको र त्यसमा सुख्खा पर्खाल लगाएको पाइयो’ कार्यकारी समिति सदस्य ध्रुव शर्माले भने, ‘सुख्खा गाह्रोका कारण मलमूत्र फैलन सक्ने भएकाले सेफ्टिक ट्याङ्कको पानीको दीर्घकालीन ब्यवस्था गर्न पनि हामीले भनेका छौं ।’


यस्तै बस्तीको पानी निकास हुने खोल्सामा रहेको क्रसर उद्योग तत्काल बन्द गर्न पनि प्राधिकरणले भनेको छ । स्थलगत अनुगमन का क्रममा घरमा कमसल खालको झ्यालढोका प्रयोग भएको स्थानीय बासिन्दाले गुनासो गरेका कार्यकारी समिति सदस्य शर्माको भनाई छ । पहिले बनेका घरमा राम्रो झ्यालढोका प्रयोग भएपनि अहिले भने कम गुणस्तरका सामान प्रयोग गरिएको स्थानीय बासिन्दाको गुनासो छ । प्राधिकरणले बस्तीको माथिल्लो भागमा रहेको वन सहितको क्षेत्र भिरालो रहेकाले सो क्षेत्रमा ढुंंगामाटो झिक्न र रुख काट्न बन्द गर्नुपर्ने सुझाव पनि दिएको छ ।

यस्तै बस्तीमा विद्युती करणको लागि समन्वय गर्न पनि ध्यानाकर्षण गराइएको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले बताए । ‘बस्ती निर्माण सम्बन्धी सम्झौतापत्रमा विद्युतीकरणको काम गैरआवासीय नेपाली संघले गर्ने भन्ने त छैन’ उनले भने, ‘घर हस्तान्तरण अघि विद्युतको काम कसले गर्ने भन्ने टुंगो लगाउने र त्यसको समन्वयका लागि भने आग्रह गरिएको हो ।’ साथै बस्ती निर्माण र घर हस्तान्तरणसँगै स्थानीय बासिन्दा को जीविकोपार्जन मा टेवा पुग्ने खालका सम्बन्धी कामहरु गर्ने बारे पनि ध्यानाकर्षण गराइएको छ । कार्यकारी समिति सदस्य ध्रुव शर्मा, निर्देशक समिति सदस्य तारानीधि भट्टराई, नापी अधिकृत, भूगर्भविद् लगायतको टोलीले गएको असार १८ गते गुप्सी पाखामा निर्माणधीन बस्तीको स्थलगत अध्ययन गरेको हो ।

सोही टोलीले बुझाएको प्रतिवेदन का आधारमा गैरआवासीय नेपाली संघलाई ९ बुँदे ध्यानाकर्षण पत्र पठाइएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । े लाप्राक का भूकम्प प्रभावितलाई बसोबास गराउने गरी एनआरएनएले गुप्सीमा एकीकृत बस्ती निर्माण थालेको हो । कुल ५ शय ७३ मध्ये हालसम्म ३० घरको निर्माण पूर्ण रुपमा सकिएको छ । बाँकी घर निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले आवश्यक थप पूर्वाधार निर्माणपछि मात्रै घर हस्तान्तरण गर्न ध्यानकर्षण गराएपछि घर हस्तान्तरणमा अझै ढिलाई हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्