| आइतवार, कार्तिक २९, २०८३

गोरखामा प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिक स्थापना

अनुपमा खनाल

गोरखा नगरपालिका ४ को पिपलथोकमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्णकदको सालिक स्थापना गरिएको छ । राष्टिूय विभूति भीमसेन थापाको नाममा निर्माण गरिएको पिपलथोकस्थित पार्कमा सालिक स्थापना गरिएको हो ।

गोरखा नगरपालिकाले पर्यटन प्रबद्र्धन तथा इतिहासको संरक्षणका लागि पार्कमा थापाको सालिक स्थापना गरेको जनाएको छ । २० लाख रुपैयाँको लागतमा सालिक बनाइएको गोरखा नगरपालिकाका सुचना अधिकारी प्रकाश ढकालले जानकारी दिए ।
काठमाण्डौ बुढानिलकण्ठका मुर्तिकार नवीन सुवेदीले थापाको सालिक तयार पारेका हुन् । पाँच फिट ११ इन्च उचाईको पुर्ण कदको सालिकमा चार प्रकारका धातु प्रयोग गरिएको छ । ती सबै धातु र रङ बिदेशबाट ल्याएको मुर्तिकार सुवेदीेले बताए ।

सालिकमा तामा, पित्तल, जिङ्क र निकेलको मिश्रण रहेको उनले जानकारी दिए । सालिकमा खिया नलाग्ने र कडा स्वरुपको रहेकाले बलियो पनि रहेको उनले दाबी गरेका छन् । सालिकमा सुनौलो रंग प्रयोग गरिएको छ । यो रंगको १५ बर्षको ग्यारेन्टी रहेको उनको भनाई छ । ‘सालिकलाई आगोले नभेटे र नकोत्रिए १५ बर्षसम्म यसको रंग केहि हुँदैन । यदि केहि समस्या देखिए रंग कम्पनीले फेरी लगाईदिन्छ’ उनले भने ।

सालिक बनाउन तीन महिना समय लागेको मुर्तिकार सुवेदीले जानकारी दिए । ‘सालिक पुर्ण रुपमा तयार गर्न ३ महिना लाग्यो’ उनले भने ‘स्वरुप निकाल्नका लागि पहिले माटोको सालिक बनाएँ । त्यसपछि त्यही फर्मामा मैनको सालिक बनाएँ । अनि प्रोसेसमा जाँदै धातुहरु प्रयोग गरेर सालिक बनाएको हुँ ।’ सालिकको स्वरुप आफुले तयार पारेपनि फिनिसिङसम्म सहकर्मीहरुको साथ लिएको उनको भनाई छ ।
पछिल्ला पाँच बर्षको बिचमा ५० वटा सालिक बनाएका मुर्तिकार सुवेदीले गोरखाका लागि पहिलो सालिक भिमसेन थापाको बनाएका हुन् । सालिक स्थापना गरेपनि ढुंगा छाप्ने लगायतका केहि काम बाँकी रहेको वडा नं ४ का अध्यक्ष रामशरण अधिकारीले बताए । ‘ढुंगा छाप्ने लगायतका काम बाँकी छ । दशैं अगाडी नै औपचारिक कार्यक्रम गरेर सालिक अनावरण गर्ने तयारी छ’ उनले भने । नेपालको प्रथम प्रधानमन्त्री समेत रहेका थापाले कमाराकमारी प्रथा उन्मूलन,दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नुपर्ने कुप्रथामाथि प्रतिबन्ध, सम्पन्न वर्गले श्रमिक वर्गलाई सित्तैमा आफ्नो निजी काममा लगाउने कुप्रथाको प्रतिबन्ध, घुस खाने र खुवाउनेलाई दण्डित गर्ने व्यवस्था,सेनाको आधुनिकीकरण लगायत विभिन्न क्षेत्रमा योगदान दिएको इतिहासमा उल्लेख छ ।

एक नगर एक उद्यान कार्यक्रम अन्तरगत गोरखा नगरपालिकाले भिमसेन पार्कलाई ब्यबस्थित बनाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्