| आइतवार, कार्तिक २९, २०८३

गोरखा जिससले नदीजन्य सामाग्री उत्खननमा कडाई गर्ने

 

अनुपमा खनाल

जिल्ला समन्वय समिति गोरखाले खोला तथा नदीको स्वरुप नविग्रने गरी नदीजन्य सामाग्री उत्खनन तथा संकलनका लागि स्थानीय तहसँग समन्वय गर्ने भएको छ । नदीजन्य पदार्थको अत्याधिक उत्खनन र संकलनले दिनानुदिन वातावरण विनास हुँदै गएको भन्दै समन्वय समितिले मापदण्डभित्र रहेर नदीजन्य सामाग्री निकाल्नका लागि समन्वय गर्ने भएको हो ।

जिल्ला सभामा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख जनुका अधिकारीले दरौंदी नदी, चेपे नदी, भुसुन्डेखोला लगायतका खोला तथा नदीहरुबाट अत्याधिक उत्खनन र संकलनले प्राकृतिक सुन्दरतामा प्रतिकुल असर पर्न जाने देखिएकाले स्थानीय तहहरुसँगको समन्वयमा बैकल्पिक उपायको खोजी गर्ने बताईन् ।

समन्वय समितिले चालु बर्ष नेपाल भ्रमण बर्ष २०२० तथा प्रदेश सरकारले घोषणा गरेको आन्तरीक भ्रमण बर्ष २०१९ लाई मध्यनजर गर्दै पर्यटन प्रबद्र्धनका कार्यक्रममा सघाउने पनि तय गरेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम अनुसार जिल्लाका धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासीक महत्वका गोरखा दरबार, गोरखनाथ मन्दिर, मनकामना मन्दिर, लिगलिगकोट दरबार, भिमसेन थापा पार्क लगायतका क्षेत्रको प्रचार प्रसार गर्ने उल्लेख छ ।

जिल्लालाई फलफुल र तरकारीमा विषादीरहित जिल्ला बनाउन प्रयत्न गर्ने, महिला हिंसा, जातिय विभेद, कुरीति कुसंस्कारको अन्त्यका लागि सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्न समन्वय गर्ने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनका लागि पहल गर्ने निति तथा कार्यक्रममा समेटिएको छ ।

जिल्लाका विकास निर्माणका कामहरुको विवरण तयार गर्ने, जिल्लाको सन्तुलित विकासका लागि सरकारी तथा गैह्रसरकारी निकायसँग समन्वय गर्ने, स्थानीय तहमा विपद ब्यबस्थापनका लागि कोष खडा गर्न समन्वय गर्ने लगायतका कार्यक्रम पनि जिल्ला समन्वय समितिले तय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको अध्यक्षतामा भएको सभामा जिल्लाको ११ वटै स्थानिय तहका प्रमुख तथा उप प्रमुखहरुको सहभागिता थियो ।

कार्यक्रममा सहभागिहरुले स्थानिय तहको कार्यसम्पादन, समस्या तथा चुनौतीका बिषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्