| आइतवार, कार्तिक २९, २०८३

गोरखामा अखाद्य आशंका गरिएको चामल र मिठाई खानयोग्य भएको पुष्टि

 

अनुपमा खनाल :

गोरखामा बिक्रीका लागि निषेधित गरिएको चामल र मिठाइ खानयोग्य प्रमाणित भएको छ ।

जिल्लामा रोक लगाइएको सोनाशक्ति ब्राण्डको चामल र मिठाइ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली र रुपन्देहीले खानयोग्य भएको पुष्टि गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खानयोग्य भएको प्रमाणित भएपछि सो ब्राण्डको चामल र मिठाइको बिक्री खुल्ला भएको छ । उपभोक्ताले अखाद्य बस्तु मिसिएको आशंका गरेपछि जिल्ला प्रशासन कार्यालयले दुई साता अघि उक्त ब्राण्डको चामल र मिठाइ बिक्रीमा रोक लगाएको थियो । उक्त ब्राण्डको चामलमा प्लाष्टिक मिसाएको उपभोक्ताको आशंकापछि गुणस्तर परिक्षणका लागि प्रशासनले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा पठाएको थियो ।

दमौलीबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही पठाईएको चामल र मिठाईको नमुना परिक्षणका क्रममा अखाद्य वस्तु फेला नपरेको रिर्पोट प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले बताए । भारतको रक्सौलस्थित रिपुराज एग्रो प्रालिले उत्पादन गरेको चामलमा अखाद्य वस्तु नरहेको पुष्टि भएकाले बिक्रीका लागि खुल्ला गरिएको भण्डारीले जानकारी दिए । गोरखा नगरपालिका ६ पुरानो बसपार्कको गुप्ता मिष्ठान्न भण्डारमा बनेका मिठाईमा अखाद्य बस्तु नरहेकाले बिक्रीका लागि खुल्ला गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्