
कर्मचारीको मृत्यू भएपछि मनकामना बहिरा मावि चारदिनदेखि बन्द, व्यवस्थापन समिति र बहिरा संघसंग आक्रोशित
अनुपमा खनाल :
गोरखा नगरपालिका ९ र १० का स्थानीयबासीले मनकामना बहिरा माध्यमिक विद्यालयमा तालाबन्दी गरेको छ । विद्यालयको कर्मचारी श्यामहरि घिमिरेको हत्यामा विद्यालयको संलग्नता रहेको आरोप लगाउँदै बिहिबार तालाबन्दी गरिएको मृतकका आफन्त सुवास घिमिरेले जानकारी दिए ।
‘करिब पाँचसय जनाको समूहमा आएका स्थानीयबासीले विद्यालयमा ताला लगाएका हौं’, उनले भने, ‘तालाबन्दीपछि स्थानीयबासीले ‘हत्या गर्न पाइँदैन, बहिरा संघ खारेज गर, विद्यालय व्यवस्थापन समिति खारेज गर’ जस्ता नारा लगाएका थियौं ।’
५० बर्षका कर्मचारी घिमिरेको गत मंगलबार बिहान आठ बजेतिर विद्यालयबाट करिब एकसय मिटर पर शव भेटिएको थियो । सोमबार रातीे छात्राबासमा रहेका विद्यार्थीलाई खाना खुवाएर नजिकै रहेको आफ्नो घरमा सुत्न जाने क्रममा घिमिरे बेपत्ता भएका थिए । खोजतलासको क्रममा जंगलमा चोटैचोट लागेको अबस्थामा शव भेटिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष षडानन्द रेग्मीले जानकारी दिए ।
यसअघि पनि उनीमाथि विद्यालय भित्र पटक पटक आक्रमण हुने गरेकाले यसपटक पनि विद्यालय भित्रै आक्रमण भएको हुनसक्ने आफन्तको आरोप छ ।
प्रहरीले भने सात जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । ‘हामीले गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले भने, ‘सम्पूर्ण संयन्त्र प्रयोग गरिरहेका छौं । आशा गरौं छिट्टै सत्यतथ्या फेला पर्ला ।’
घटना भएको दिन गत मंगलबारदेखि सो विद्यालय बन्द रहेको छ । ‘आउँदो आइतबारदेखि प्रथम त्रैमासिक परीक्षा छ । तर विद्यालय बन्द रहेको छ’, शिक्षक रोमबहादुर थापाले भने, ‘यो तालाबन्दीले झन् कतिदिन लम्बिने हो ।’
उनको शव पोष्टमार्टमपछि पनि गोरखा अस्पतालमै राखिएको छ । घटनाको सत्यतथ्य अनुसन्धान नभै शव नबुझ्ने अडानका कारण शव अस्पतालमै रहेको हो । घटनाको सत्यतथ्य छानबिनका लागि पीडित पक्षले बिहिबार प्रशासन कार्यालयमा पनि दबाब दिएका छन् । सो क्रममा मृतकका भाई शम्भु घिमिरेले विद्यालय ब्यबस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी सबैलाई अनुसन्धानको दायरामा ल्याउन माग गरे । ‘घटना भएको चार दिन भयो’ उनले भने ‘अहिलेसम्म अनुसन्धान प्रक्रिया के भैरहेको छ । हामीले केहि थाहा पाउन सकेनौं । प्रहरी प्रशासनले अस्पतालबाट शब लैजान दवाव मात्र दिने ?’ विद्यालय परिवार भित्रैबाट हत्या भएको उनको आशंका छ ।
‘दाईले जागिर खाएको १८ बर्ष भयो’, उनले भने ‘विद्यालयका आर्थिक पाटो, त्यहाँका अनुशासनका विषय, सबै दाईलाई थाहा थियो । विद्यालयले विद्यार्थीका कुरा बुझ्न दाईलाई म्यासेन्जरको रुपमा पनि लिन्थे ।

गलत काम गर्नेले आफ्नो कुरा बाहिर आउँछ भन्ने डर भएकाले घटना गराएको हुनसक्छ ।’ विद्यालयले छात्राबासमा बस्ने विद्यार्थीलाई छाडा छोडेको चिजकुमारी थापाले बताइन् । ‘जंगलकै जग्गामा विद्यालय छ’, उनले भने, ‘हामी घासँदाउरा गर्न त्यहाँ जानुपर्छ । बहिरा विद्यार्थीले हामीलाई लुगा खोलेर देखाउथे । गाँजा खाएर बस्थे । फरक क्षमता भएका भनेर हामीले वास्ता गर्दैनथ्यौं । अहिले यस्तो घटना भयो । अब त हामीलाई वनजंगल जान पनि डर भयो ।’
छलफलका क्रममा पीडित पक्षले गोरखा अस्पतालले दिएको पोष्र्टमार्टमको प्रारम्भिक विवरण उपलब्ध नगराएसम्म शव नबुझ्ने अडान लिएकाले जिल्ला प्रहरी कार्यालयले शुक्रबार मृतकका नजिकका आफन्तलाई मात्र रिर्पोटबारे जानकारी दिने भएको छ । प्रहरी अनुसन्धानका आधारमा परीवार बिच छलफल गरेर थप निर्णय लिने मृतकका आफन्त सुवास घिमिरेले बताए । घटनाको सत्यतथ्य छानविनका लागि प्रहरी प्रशासनले कुनैपनि सम्झौता नगर्ने प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले बताए । ‘हामी सुक्ष्म ढंगले अनुसन्धान गर्दैछौ’ उनले भने ‘तपाईहरु सबैको सहयोग आबश्यक छ । प्रहरी प्रशासन निस्क्रिय छैन । घटनाको सत्यतथ्य छिट्टै बाहिर ल्याउँछौ ।’




