
जिल्ला प्रशासन कार्यालय गोरखामा टिकट र टोकनको ब्यबस्था, बैंकको काउण्टर स्थापना हुँदै
अनुपमा खनाल
जिल्ला प्रशासन कार्यालय गोरखाले अपाङ्गता भएका र कार्यालयसम्म आउन नसक्ने प्रमाणित भएका नागरिकलाई घरमै पुगेर नागरिकता दिने भएको छ ।
शारीरीक अबस्था कमजोर भएका कारण कार्यालयसम्म आउन नसक्नेलाई घरमै पुगेर सेवा दिने प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले बताए । गत आर्थिक बर्ष कार्यालयले गरेको कामका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले शारीरिक समस्याका कारण कार्यालयसम्म आउन नसकेर नागरिकता नपाएका नागरिक भए जानकारी दिन पनि आग्रह गरेका छन् । ‘हामीले असारमा मात्रै दुईजनालाई घरमै पुगेर नागरिकता दियौं’ उनले भने ‘यो क्रम जारी रहन्छ । आफ्नो ठाउँमा बृद्धबृद्धा, अशक्त, अपाङ्गगता भएका नागरिकले नागरिकता नपाएको भए प्रशासनमा जानकारी दिनुहोला ।’
कार्यालयले गएको बैशाख १६ गतेबाट टोकन प्रणालीबाट सेवा प्रवाह गर्न थालेपछि सेवाग्राहीले सजिलोसँग सेवा पाएका उनको दाबी छ । प्रशासनमा सेवा लिन आएका नागरिकको सजिलोका लागि कार्यालय परिसरमै हुलाक टिकट उपलब्ध गराउन थालिएको पनि उनले बताए । अब राहदानी लगायतको राजस्व बुझाउनका लागि राष्टिूय वाणिज्य बैंकको काउन्टर प्रशासनमै सञ्चालन गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।
गत आर्थिक वर्षभर १५ हजार तीनसय ४६ नागरिकता वितरण भएकोमा चारसय ५७ वटा नागरिकता घुम्ति शिविरमा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
गत बर्ष १३ हजार सात सय जनालाई राहदानी वितरण गरिएको प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै ६० वटा मुद्धा दर्ता भएकोमा ५५ वटाको किनारा लगाइएको, विभिन्न कार्यालयको ४५ पटक छड्के अनुगमन र १५ पटक वजार अनुगमन गरिएको प्रमुखा जिल्ला अधिकारी लामिछानेले जानकारी दिए । अबदेखि मासिक रुपमा कार्यालयले सम्पादन गरेका कामको बुलेटिन निकाल्ने र सबै कार्यालयलाई पनि त्यसका लागि निर्देशन दिने उनको भनाई छ ।
बजार अनुगमनलाई प्रभावकारी बनाउन कार्ययोजना बनाएर अघि बढ्ने उनले बताए । अबरुद्ध विकास निर्माणका कामलाई गति दिन, जिल्लामा सार्वजनिक यातायातको भाडादर पुनरावलोकन, बूढिगण्डकी जलविद्युत आयोजना को बाँकी क्षेत्रको मुआब्जा निर्धारण गर्न, पुनर्निर्माण लगायतका विषयलाई प्राथमिकता का साथ अघि बढाउने उनले जानकारी दिए ।




