
गोरखाको चुमनुब्री गाउँपालिकालाई सडकले जोड्यो, फिलिम पुग्न अब तीन किलोमिटर बाँकी
किरण लोहनी :
हालसम्म सडक नपुगेको गोरखाको विकट चुमनुब्री गाउँपालिका सडकसञ्जालमा जोडिएको छ । चुमनुब्री गाउँपालिका ३ जगतसम्म सडकको टूयाक निर्माण गरिएको नेपाली सेनाका कार्यदलका प्रमुख मेजर निशान्त क्षेत्रीले जानकारी दिए ।
यारुबगरबाट पाँच किलोमिटर सडकको टूयाक निर्माण गरिएको उनले बताए । अब तीन किलोमिटर निर्माण गरेपछि चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम वारिसम्म सडक पुग्ने मेजर क्षेत्रीले बताए । सो काम पनि छिट्टै सम्पन्न गर्ने उनले बताए ।
सेनाले लापूको हावाडाँडाबाट दुईवर्षअघि टूयाक निर्माण कार्य सुरु गरेको थियो ।
२०७४ बैशाख ११ गते लापुको हावाडाँडाबाट काम थालेको सेनाले हालसम्म २६ किलोमिटर टूयाक निर्माण सकेको छ । सडक निर्माणकै क्रममा धार्चेको माछाखोलामा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
यस्तै लार्के भञ्ज्याङसम्मको सडक सर्भेको काम पनि सकिएको मेजर क्षेत्रीले जानकारी दिए । ‘सर्भे सकिएको खण्डको विस्तृत आयोजना प्रतिवेदन डिपिआर बनाउने काम भैरहेको छ, सल्लेरीमा तेस्रो क्याम्प खडा गरी टूयाक निर्माणको कामलाई तीब्र रुपमा अघि बढाइएको छ’ मेजर क्षेत्रीले भने ।
चारदेखि आठ मिटर फराकिलो सडकको ठाउँठाउँमा थप सुधारको काम भने बाँकी रहेको क्षेत्रीले बताए । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटबाट चीनको सीमासम्मको कुल एकसय ८० किलोमिटरको सो सडकको हावाडाडाँदेखि लार्केभन्ज्याङ सम्मको करीव एकसय २० किलोमिटर सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । प्राविधिक सहित सेनाको ८५ जनाको टोलीले सडक निर्माणको काम गरिरहेको छ ।
चीनको सीमासम्म सडक पु¥याउने अवधारणा सहित सडक विभागले केही वर्षअघिदेखि सडक निर्माण थालेको थियो ।
तर साविकको लापू गाविसको हावाडाँडा नजिकैको असजिलो भीरसम्म टूयाक खनेर निर्माण कार्य रोकिएको थियो । भीर छिचोल्न धेरै विस्फोटक पदार्थ चाहिने भएपछि नेपाली सेनालाई नै सडक निर्माणको जिम्मा दिइएको हो । टूयाक खन्नका लागि घटिमा दुई देखि बढीमा ५ अर्ब रुपैयासम्म खर्च लाग्न सक्ने प्राविधिकरुले अनुमान गरेका छन् । काममा जटिल खालका अवरोध नआए अबको ३ वर्षसम्ममा चीनको सीमा नाकासम्म टूयाक खोल्न सकिने नेपाली सेनाका प्राविधिकहरुले बताएका छन् ।




