
एक बर्षमा ३५० महिला उद्यमी थपिए
गोरखामा एक बर्षमा तिन सय ५० महिला उद्यमी थपिएका छन् । घरेलु तथा साना उद्योग विकास समिति गोरखामा आर्थिक बर्ष २०७५÷७६ मा दर्ता भएका छ सय ८८ उद्योग मध्ये तीनसय ५० उद्योग महिलाको नाममा छ । कार्यालय प्रमुख नवराज रावतले पत्रकार सम्मेलन गर्दै कार्यालयको एक बर्षको कामको विषयमा जानकारी दिने क्रममा महिला उद्यमी बढेका बताए ।
‘महिलाको नाममा उद्योग दर्ता गर्दा राजस्वमा छुट छ’ उनले भने ‘ एक करोड रुपैयाँसम्म लगानी गरेर महिला, दलित र उत्पीडित समुदायका ब्यक्तिको नाममा उद्योग दर्ता गर्दा निवेदन दस्तुर एक सय रुपैयाँ मात्रै तिरे पुग्छ । राजस्व छुट छ । यसले पनि महिलाको नाममा उद्योग दर्ता बढेका छन् ।’ महिलाहरुले कृषिजन्य, सिलाई कटाई, हस्तकलाका सामाग्री, ब्युटिपार्लर लगायतका उद्योग तथा ब्यबसाय सञ्चालनका लागि लगानी गरेका कार्यालयले जनाएको छ । कार्यालयमा गत आर्थिक बर्ष दर्ता भएका ६८८ उद्योगमध्ये कृषि तथा वनजन्य उद्योगको संख्या धेरै छ। यो प्रकृतिको उद्योग तीन सय ९४ दर्ता भएको कार्यालय प्रमुख रावतले जानकारी दिए ।
गतबर्ष एक सय ३३ होटल, ५० उत्पादनमुलक उद्योग र सेवा सम्बन्धी एक सय उद्योग थपिएका छन् । यी उद्योगमा ५८ करोड ५७ लाख ४८ हजार चार सय ४४ रुपैयाँ लगानी भएको छ । जसबाट ९० करोड २५ लाख ८१ हजार एक सय रुपैयाँ बराबरको बार्षिक उत्पादन हुने लक्ष्य राखिएको छ ।
यी उद्योगमा एक हजार पाँचसय ९५ जनाले रोजगारी पाएका छन् । जसमध्ये पाँच सय ७८ महिला रहेका कार्यालय प्रमुख रावतले बताए । कार्यायका अनुसार गतबर्ष नै वाणिज्य अन्तरगत चार सय ९९ ब्यबसाय थपिएका छन् ।
उद्योग तथा वाण्ज्यि दर्ता, नविकरण, पुँजीवृद्धि, जरिवाना दस्तुर लगायतबाट कार्यालयले गत आर्थिक बर्ष एक करोड चार लाख १९ हजार नौ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्लाभर चार हजार दुई सय ३२ उद्योग र दुई हजार नौ सय २९ वटा बाणिज्य ब्यबसाय रहेका कार्यालयले जनाएको छ ।
कर्मचारी समायोजनका क्रममा संघमा समायोजन भएर जान लागेका रावतले आफ्नो कार्यकालमा जिल्लाका उद्यमीको सिप विकास र प्रविधि हस्तान्तरण गर्नुका साथै अबैध रुपमा सञ्चालनमा रहेका क्रसरलाई नियमन गर्न पहलकदमी गरेको जानकारी दिए ।




