| आइतवार, कार्तिक २९, २०८३

आरुघाटको ७४.५ र धार्चेको ७३.९५ प्रतिशत प्रगति, कर्मचारी अभाव, विकासको चुनौती

 

भर्खरै सकिएको आर्थिक बर्ष आरुघाट गाउँपालिकाले ७४.५ प्रतिशत बजेट खर्च गरेको छ । कूल ४२ करोड ७० लाख रुपैंयामध्य ३१ करोड ८० लाख रुपैयाँ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले जानकारी दिए ।

‘पुँजीगत तथा विकासतर्फ १९ करोड १९ लाख रुपैंया बजेट थियो जसमध्य १३ करोड २५ लाख रुपैंयाँ खर्च भयो’, खनालले भने, ‘चालुतर्फ २३ करोड ५० लाख रुपैयाँ थियो, जसमध्य ७८.९२ प्रतिशत खर्च भयो ।’ संस्थागत क्षमता कम भएका कारण अपेक्षित प्रगति हुन नसकेको उनले बताए ।

कर्मचारी अभावका कारण काम गर्न कठिनाइ भएको गाउँपालिकाका प्रमुख पूर्ण दाहालले बताए । ‘शिक्षा शाखामा कर्मचारी नै छैन’, उनले भने, ‘कृषि र भेटरीनरीमा एकेक जना छन् । दस वडामा जम्मा तीनजना मात्र वडा सचिव छन् । त्यसैले पुजीगत त परको कुरा चालुतर्फ पनि पूरै बजेट खर्च हुन सकेन ।’ भएका कर्मचारी पनि हेरफेर भइरहनाले काममा कठिनाइ भएको उनको भनाइ छ । ५०, ५० लाखका दुई ठूला योजना पनि डिपिआरको बिषयमा विवादका कारण सञ्चालन हुन नसकेको उनले बताए ।

धार्चे गाउँपालिकाले पनि कूल बजेटको जम्मा ७३.९५ प्रतिशत मात्र खर्च गरेको छ । गाउँपालिकाको बजेट ३० करोड ८२ लाख १० हजार ४२३ रुपैयाँमध्य जम्मा २२ करोड ७९ लाख १९ हजार सातसय रुपैया मात्र खर्च गरेको गाउपालिकाका प्रशासकीय अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।

चालुतर्फ(सशर्त जनश्रमदानसहित) २१ करोड २६ लाख ६४ हजार सातसय अठार रुपैयाँमध्य १५ करोड १० लाख ३१ हजार रुपैयाँ अर्थात ७१.०२ प्रतिशत खर्च भएको छ । त्यस्तै पुजीगततर्फ नौ करोड ५५ लाख ४५ हजार सातसय पाँच रुपैयाँमध्य सात करोड ६८ लाख ८८ हजार रुपैयाँ अर्थात ८०.४७ प्रतिशत खर्च भएको पाण्डेले बताए ।
कर्मचारी अभाव र भौगोलिक बिकटताका कारण प्रसस्त प्रगति देखिन नसकेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले बताए । ‘गाउँपालिकाको कार्यालय निर्माणका लागि ६६ लाख रुपैयाँ बिनियोजन गरिएको थियो, स्वास्थ्य कार्यालयको भवनका लागि ५० लाख बिनियोजन गरिएको थियो’, उनले भने, ‘दुईवटै भवनका लागि जग्गा किन्न सकिएन ।’ ३४ जनाको कर्मचारी दरबन्दीमा जम्मा आठ जना मात्र कार्यरत रहेको उनले बताए । कर्मचारी अभाव हुँदा लक्षितबर्गको कार्यक्रमहरु गर्न समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्