
बन्द रहेको गोरखाको फ्रेस हाउसलाई सरकारी अनुदान ?
अनुपमा खनाल :
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले बन्द भएको मासु पसललाई अनुदान दिएको पाइएको छ ।
गोरखा नगरपालिका १० छेबेटारको सिलवाल फ्रेस हाउसलाई फ्रेस हाउस सुधार तर्फको अनुदान दिएको पाईएको हो ।
ऋषिराम सिलवालको सो फ्रेस हाउसका लागि गण्डकी प्रदेशबाट अनुदानका लागि एक लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ७० हजार एक सय ८७ रुपैयाँ स्विकृत भएको थियो । जसमा करकट्टी गरेर एक हजार ५३ रुपैयाँ ६९ हजार एक सय ३४ रुपैयाँ भुक्तानी भैसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।
सो रकमले ब्यबसायी सिलवालले पसलमा टायल बिच्याउनुका साथै आगँनमा ट्रस्ट हालेका छन् । तर अनुदान पाएको पसल गत माघदेखि नखुलेको स्थानीयले बताएका छन् । ‘पहिले त यो पसल राम्रै चलेको हो’ एक स्थानीयले भने ‘गएको माघदेखि त कहिल्यै खुलेको छैन । उनीहरुको ब्यबहार के कसो भएर नखुलेको हो । बन्द भएको पसलले नै अनुदान पाएको सुन्दा अचम्म लाग्यो ।’ स्थानीयले माघदेखि पसल बन्द रहेको बताएपनि केन्द्रले गत चैत २१ गते सिलवाल फ्रेस हाउस अनुदानका लागि छनौट गरेको सुचना सार्वजनिक गरेको थियो ।
पसल बन्द भएको ऋषिरामकी श्रीमती शान्ताले स्वीकार गरिन् । ‘पसल नखुलेको ३÷४ महिना भयो’ उनले भनिन् ‘नानी बिरामी भएर उहाँँ यताउता गैरहनुहुन्छ । मैले एक्लै खसीबोका ल्याएर काटेर बेच्न सक्दिन त्यसैले पसल खोलेको छैन ।’ लामो समयदेखि नखोलेका कारण पसल कोठा गन्हाउनुका साथै माकुराको जालोले घेरिएको छ ।

सिलवाल फ्रेस हाउसले ब्यबहारिक कठिनाईका कारण मासु बेच्न नसकेको केन्द्रका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए । ‘उहाँहरु काम गर्ने मान्छे नै हो’ उनले भने ‘हामीले कामका आधारमा अनुदान दिने हो । उहाँको पसलमा अनुदानको रकमले टायल र ट्रस हालिएको छ । पसल सधै बन्द गर्ने भए त त्यही काम पनि गर्नुहुदैंनथ्यो होला नि । अहिले केहि ब्यबधानले पसल खोल्न नसकेको होला । हामी निरन्तर अनुुगमन गर्नेछौ ।’
यसैबिच, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखा मार्फत अनुदान लिएका किसानले सञ्चालन गरेका ब्यबसायको बुधबार अनुगमन गरिएको छ । जिल्ला न्यायधिस रमेशकान्त अधिकारी, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, जिल्ला समन्वय समिति उप प्रमुख जनुका अधिकारी, कृषि ज्ञान केन्द्रकी प्रमुख नमिता थापा, एस पि ओम अधिकारी, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो । गोरखा नगरपालिका १० को छेबेटारको देवकोटा मासु पसल, सिलवाल फ्रेस हाउस, गोरखा नगरपालिका ८ को घिमिरे कृषि तथा पशुपन्छी फार्म, वडा नं ९ को रेवन कृषि तथा पशु पन्छी फार्म लगायतका फार्मको अबलोकन गरिएको हो । सो क्रममा अनुदान रकमले ब्यबसाय सञ्चालनमा परेको प्रभाव लगायतका विषयमा किसानहरुसँग छलफल भएको थियो । कार्यालयले फ्रेस हाउस सुधार अन्तरगत २२, मोडल फार्म अन्तरगत २१, पुर्वाधार निर्माण र पशु आहारा सेवा कार्यक्रम तर्फ २, उत्पादनमा आधारित अनुदानतर्फ ३, पकेट क्षेत्रतर्फ ४,यान्त्रिकरण अनुदानतर्फ २२ किसानलाई अनुदान दिएको छ । उनीहरुको कामको प्रगतिका आधारमा अनुदान रकम भुक्तानी गरेको केन्द्र प्रमुख ठाकुरले जानकारी दिए ।




