
भीमसेनथापा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, सीमान्तकृत समुदायका बच्चा जन्मनासाथ एक हजार रुपैयाँको बैंक खाता
अनुपमा खनाल
भीमसेन थापा गाउँपालिकाले सीमान्तकृत समुदायमा जन्मेका बच्चालाई एक हजार रुपैयाँ बचत सहित बैंक खाता खोलिदिने भएको छ ।
पाचौं गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले सीमान्तकृत परिवारमा जन्मेका बच्चालाई बैंक खाता खोलिदिने बताए ।
कृषि पर्यटन र पूर्वाधार भीमसेन थापा गाउँपालिका संवृद्धिको मुल आधार भन्ने नाराका साथ गाउँ पालिकाले नीति तथा कार्यक्रम तय गरेको हो । जसअन्तरगत आफ्नै सेवा क्षेत्रभित्र छोराछोरीलाई बाल कक्षामा भर्ना गर्ने अभिभावकलाई प्रतिविद्यार्थी पाँच सय रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको छ ।
एम.फिल तथा विद्यावारिधि गर्न चाहने शिक्षकलाई गाउँपालिका अध्यक्ष छात्रवृत्ति उपलब्ध गराउने र एक विद्यालय एक नर्स कार्यक्रम कार्यान्वयनमा ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रम अनुसार अस्पताल वा स्वास्थ्य संस्थाबाट वच्चा जन्माउने सुत्केरी आमालाई गाउँपालिकाले पन्ध्र सय रुपैयाँ एकमुष्ट अनुदान दिनेछ ।
यस्तै, पर्यटन प्रबद्र्धनका लागि भीमसेन थापाको घर घडेरी स्थलमा पूर्ण कदको प्रतिमा स्थापना गर्ने तथा सत्यरुपा स्मृति उद्यान देखी वोर्लाङ्ग कोटकाली सम्म भिमसेनथापा पद मार्ग निर्माण गर्ने पनि गाउँपालिकाको योजना छ । भिमसेनथापा स्मारक र संग्रहालय निर्माणका लागि गुरुयोजना तयार गरी यसै आर्थिक वर्षमा पुर्वाधार तयार गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
सत्यरुपा स्मृती उद्यान महादेवटार, जर्नेली पौवा भिमसेनथापाको धारा, हिटी चौतारा, चण्डीथान हुदै कोटकाली सम्मको पदमार्गलाई भिमसेनथापा पदमार्ग नामाकरण गरी निर्माण कार्यलाई तिब्रता दिने अध्यक्ष पाण्डेले जानकारी दिए । भाषा, कला र संस्कृति लगायतको संरक्षण गर्न हरेक बर्ष पुष महिनामा ७ दिने भिमसेनथापा महोत्सव गर्ने गाउँपालिकाले तय गरेको छ ।
प्रत्येक वडामा जेष्ठ नागरिक लक्षित पार्क, उद्यान तथा आराम कक्ष निर्माण गर्ने, मिनी चिडियाखानाको सम्भाव्यता अध्ययन गर्ने, ८० वर्ष नाघेका वृद्धावृद्धालाई लौरो वितरण गर्ने र एक वडा एक कृषि व्यवसाय सञ्चालनमा जोड दिने गाउँपालिकाले जनाएको छ । अपाङ्गता भएका व्यक्तिले व्यवसाय गर्न चाहेमा एक लाख रुपैयाँसम्म निब्र्याजी ऋण उपलब्ध गराउने पनि गाउँपालिकाको निति छ । कुखुरा पालन र बाख्रापालन व्यवसाय सञ्चालन गर्न चाहनेलाई एक लाख रुपैयाँसम्म अनुदान दिने गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिए ।
लघु तथा मझौला स्तरका उद्योग एवं व्यापारका लागि प्रोत्साहन गर्ने गाउँपालिकाको नीति छ । गाउँपालिकाले भिमसेनथापा चक्रपथ निर्माण कार्यको डि.पि.आर निर्माण गरी पक्की सडकको रुपमा विस्तार गर्न आगामी आर्थिक बर्षदेखि नै काम सुरु गर्ने भएको छ ।
गाउँपालिका भित्रका सवै स्थानहरुमा इन्टरनेट सुविधाको पहुँच पुग्ने गरी आवश्यक स्थानहरुमा वाइफाई टावर निर्माण गर्ने र राष्टिूय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्यमा योगदानमूलक सहभागिता जनाउने गाउँपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ ।




