
गोरखा धार्चेमा स्याउ लटरम्मै, रोपेको तीन महिनामै स्याउ फलेपछि लापुबासी दङ्ग
गत चैतमा रोपेको स्याउ लटरम्म फलेर असारमै पाकेपछि लापुगाउँका बासिन्दा खुशीले दङ्ग भएका छन् ।
धार्चे गाउँपालिका ७ लापुको नुकुमचेतमा रोपिएको एकसय वटा विरुवामा लटरम्म फल लागेको र अहिले पाक्न थालेको नुकुमचेत देवी कृषक समूहका अध्यक्ष उज्वल गुरुङले जानकारी दिए । ‘चैतमा रोपेका थियौं । अहिल्यै उत्पादन हुन्छ भनेर बिश्वास गर्नै गाह्रो थियो । नभन्दै फलेर पनि अहिले पाक्न थाल्यो’, उनले भने, ‘हामी त साह्रै खुशी भएका छौं । यही बर्ष त लगानी उठाउन सकिन्न होला, अर्को बर्ष लगानी उठाएर पनि नाफा कमाउँछौं ।’
उनी लगायत पाँच जनाले कृषक समूह गठन गरेर स्याउ खेती गरेका थिए । समूहमा उज्वल, उपेन्द्र गुरुङ, सूर्यबहादुर गुरुङ, विशाल गुरुङ र राजु गुरुङ रहेका छन् । ‘यसबर्ष स्याउका बिरुवा प्रदेश सरकारले दिएको थियो । अब आउँदो बर्ष थप विरुवा किनेर वृहत रुपमा स्याउखेती गर्ने निर्णय गरेका छौं’, उनले भने ।




