| आइतवार, कार्तिक २९, २०८३

आरुघाट गाउँपालिकाको नीति तथा कार्यक्रम पारित, दुईबर्षभित्र आवश्यक ठाउँमा ट्र्याक खोलिसक्ने

 

अनुपमा खनाल :

आरुघाट गाउँपालिकाले दुईबर्षभित्र सडकको नयाँ टूयाक खोलिसक्ने भएको छ । सडक सुविधा नपुगेका पालिकाभित्रका ठाउँमा दुईबर्षभित्र सडकको ग्रेड मिलान गरेर मात्र टूयाक खोल्ने गाउँपालिकाले निति लिएको हो ।

गाउँपालिकाको कार्यालयमा शुक्रबार भएको पाचौं गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले दुईबर्षभित्र टूयाक खोलिसक्ने निति लिएको जानकारी दिईन् । पालिकाले भूकम्प पिडित घुम्ती कोषलाई निरन्तरता दिदैं एक बर्षभित्रमा पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस्तै, बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुवानक्षेत्रको बस्ती स्थानान्तरण गर्दा सुविधा सम्पन्न पहिचान सहितको न्यु आरुघाट सिटि निर्माण गर्न पालिकाले संघीय सरकारसँग समन्यव गर्ने भएको छ । निति तथा कार्यक्रम अनुसार एक वडा एक उत्पादन र एक वडा एक ब्यबसायलाई जोड दिईएको छ ।

उत्पादनको पकेट क्षेत्र निर्धारण तथा गाउँपालिका स्तरीय कृषि भण्डारण कक्षको निर्माणका लागि सम्भाब्यता अध्ययन गरिने भएको छ । स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थको प्रशोधन गरी उत्पादन गर्न सकिने साना तथा घरेलु उद्योग संचालनमा गाउँपालिकाले जोड दिएको छ । आगामी बर्ष आर्खेत थुमी सतिडाँडा मनिखर्क हुँदै धार्चे गाउँपालिका जोड्ने पदमार्गको कार्य डिपिआर अनुसार अघि बढाउने उपाध्यक्ष नेपालीले जानकारी दिईन् । समग्र पर्यटन बिकासको लागि गाउँ पालिका स्तरीय पर्यटन गुरु योजनाको निर्माण गरी कार्यक्रमहरु तयार पारिने उनको भनाई छ ।

खेतीयोग्य जमिनमा बस्ती विस्तारलाई निरुत्साहित गर्ने गाउँपालिकाले निति लिएको छ । गाउँपालिकाभित्र प्राविधिक शिक्षालयको स्थापनाको लागि पहल गर्ने, आबासीय बिद्यालय र प्राबिधिक बिद्यालय संचालन सम्बन्धी निर्दे्शिका तयार गरि लागू गर्ने र गाउँपालिकामा एक स्वास्थ्य उपचार राहत कोषको स्थापना गर्ने निति तथा कार्यक्रममा समेटिएको छ ।

युवालाई स्वरोजगार तर्फ उन्मुख गराउन अनुदानमुलक कार्यक्रम गर्नुका साथै अपाङ्गमैत्री स्वरोजगारमुलक कार्यक्रमको व्यवस्था गरिने उनको भनाई छ । विभिन्न जाती, तथा आदिवासी समुदायको साँस्कृतिक पहिचान झल्कने किसिमका गाउँपालिका स्तरीय संग्रहालय निर्माण गर्ने गाउँपालिकाको निति छ । दलित समुदायका बिद्यार्थीहरुले गाउँ पालिका भित्रको सामुदायिक विद्यालयबाट एस ईई परिक्षामा बि प्लस नतिजा ल्याएर प्राविधिकधार अन्तर्गतको शिक्षा हासिल गर्न चाहेमा एक पटकको लागि ५० हजार रुपैयाँको छात्रवृत्ति दिने कार्यक्रममा समेटिएको छ ।
विपद व्यवस्थापनको लागि प्रत्येक वडामा हेलिप्याड निर्माण तथा गाउँपालिका स्तरीय नाइटभिजन हेलिप्याड निर्माणको पहल गर्ने, दैवी प्रकोप, राहत तथा उद्धार कोषको कार्य्विधि निर्माण गरी कार्यान्वयन गर्ने लगायतका कार्यक्रम पनि निति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्