| आइतवार, कार्तिक २९, २०८३

छात्रामाथि दुव्र्यबहार गर्ने अध्यक्षलाई कारबाहीको माग गर्दै विद्यालय बन्द

 

छात्रामाथि दुव्र्यबहार गरेको आरोप लागेका अमरज्योति जनता माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रकास न्यौपानेलाई कारबाहीको माग गर्दै विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । आरोपीमाथि कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएपछि परीक्षा चल्दाचल्दै विद्यालय बर्खे विदा गरिएको प्रधानाध्यापक माधव देवकोटाले जानकारी दिए ।

‘हामी किटानी जाहेरी दिनका लागि जिल्ला प्रहरी कार्यालयतिर गइयो, यता विद्यार्थीहरु आन्दोलित भएछन्’, देवकोटाले भने, ‘अब थामिसक्नु हुदैन भन्ने निर्णयमा पुगियो र दुइटा परीक्षा बाँकी छँदै बर्खे विदा गरियो ।’

गत सोमबार राती दुई बजे छात्राबासमा बस्ने छात्राको कोठामा झ्यालबाट हात घुसाएर कपडा तान्ने लगायतका शंकास्पद व्यबहार गरेको आरोप अध्यक्ष न्यौपानमाथि लागेको छ । ‘यसअघि पनि शंकास्पद गतिबिधि गर्ने गरेको र अस्ति पनि त्यस्तै भएपछि कानूनी प्रक्रियामा गएका हौं’, समितिका सदस्य रमेश पोखरेलले भने, ‘अध्यक्षलाई निलम्बन गर्न माग गर्दै पालुङ्टार नगपालिकाको नगर शिक्षा शाखामा पत्राचार गर्ने समितिको निर्णय पनि भएको छ ।’

कक्षा १२ मा पढ्ने १६ बर्षीया छात्रामाथि पटकपटक अभद्र व्यबहार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । बुधबार जाहेरी दिए पनि प्रहरीले बिहिबारसम्म जाहेरी दर्ता गरेको छैन । इलाका प्रहरी कार्यालयले पनि जाहेरी लिन नमानेको र जिल्ला प्रहरी कार्यालयले पनि जाहेरी दर्ता गर्न आलटाल गरेको भन्दै विद्यार्थी आन्दोलित भएका विद्यालयले जनाएको छ ।
प्रहरीले भने पीडकको कुरा सुनेपछि जाहेरी दर्ता गर्ने जनाएको छ । ‘उहाँलाई हामीले झिकाएका छौं । उहाँको कुरा पनि सुन्नु प¥यो । उहाँ आएपछि जाहेरी दर्ता गर्छौं’, महिला सेलकी इन्स्पेक्टर कमला नरालले भनिन्, ‘यत्रो दिन त कुर्नुभयो । अब एक दिन कुर्नुस् भनेका हौं ।’

प्रतिक्रिया दिनुहोस्