
चार गाउँपालिकालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा बिस्तार गरिने
गोरखाको चार गाउँपालिकाका विभिन्न क्षेत्रलाई जडिबुटीको पकेट क्षेत्रका रुपमा बिस्तार गरिने भएको छ । जिल्लाको बारपाक सुलिकोट, धार्चे, आरुघाट र अजिरकोट गाउँपालिकाका बिभिन्न क्षेत्रलाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्ने काम भैरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
साविकको जिल्ला वन कार्यालयले तीन वर्षअघिदेखि सुरु गरेको पकेट क्षेत्र विस्तारको कामलाई डिभिजन वन कार्यालयले निरन्तरता दिएको हो । धार्चे गाउँपालिकाको पूरै क्षेत्र, आरुघाटको मान्वु र थुमी, अजिरकोटको सिम्जुङ र खरिबोट तथा बारपाक सुलिकोट गाउँपालिकाको बारपाकलाई जडिबुटी खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।
सो क्रममा चालु आर्थिक बर्ष २१.५ हेक्टरमा जडिबुटी खेती बिस्तार भएको सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए । ७८ रोपनीमा आठ हजार ७५ लौठसल्ला, ३८ रोपनीमा एक लाख १६ हजार सात सय ७५ चिराइतो, ३० रोपनीमा ७० हजार ३५ सतुवा, एक सय ३४ रोपनीमा १० हजार छ सय ६५ तेजपात र एक सय ५० रोपनीमा ७५ सय पाचँ टिमुरका विरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । कृषक समुहहरुसँग सहकार्य गरेर निजि जग्गामा जडिबुटिका विरुवा रोपिएको सहायक वन अधिकृत बल्छौडीले बताए । ‘हामीले चार गाउँपालिकामा सबै प्रकारका जडिबुटि रोपेका छौं’ उनले भने ‘केहि जडिबुटि अहिले पनि रोप्ने क्रम चलिरहेको छ ।’
कार्यालयले जडिबुटि खेतीलाई प्रोत्साहनका लागि चालु बर्ष विभिन्न जातका ५० हजार जडिबुटिका बेर्ना किसानलाई वितरण गरेको उनको भनाई छ । जडिबुटि खेती विस्तार तथा प्रबद्र्धनका लागि कार्यालयले जडिबुटि भण्डार तथा प्रशोधन केन्द्र स्थापना, किसानलाई अभिमुखिकरण, उत्पादन, संकलन र ब्यापारीसँग अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तरगत लाप्राकमा अल्लो प्रसोधन केन्द्र स्थापना गरिएको सहायक वन अधिकृत बल्छौडीले जानकारी दिए । यसअघि उहीयामा जडिबुटी प्रशोशन केन्द्र स्थापना गरिएको थियो ।
आगामी बर्षपनि जडिबुटी खेती विस्तारका लागि लगानी गरिने डिभिजनल वन अधिकृत तोयानाथ पौडेलले बताए । ‘हामीले जडिबुटिको राम्रो सम्भावना रहेका क्षेत्रलाई विस्तार गरेर जडिबुटि जोन बनाउने लक्ष्य लिएका छौं’ उनले भने ‘जडिबुटिको पकेट, ब्लक हुँदै जोन निर्माण गर्छौ । किसानलाई जडिबुटि खेतीमा आकर्षित गर्न तथा बजारीकरणका लागि सघाउने किसीमका कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’




