
चार गाउँपालिकाले निर्धारित समयभित्र गाउँसभा गरेनन्
गोरखाका चारवटा स्थानीय तहले निर्धारित समयसीमाभित्र गाउँ पालिकाको बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले संविधानले तोकेको समयसीमाभित्र बजेट, नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन् ।
स्थानीय सरकारले असार १० गतेभित्र बजेट र नीति तथा कार्यक्रम प्रस्ताव गरी असार मसान्तभित्र पारित गरिसक्नु पर्ने नेपालको संविधान २०७२ मा उल्लेख छ ।
केन्द्र सरकारले जेठ १५ गतेभित्र र प्रदेश सरकारले असार १ गतेभित्र बजेट सार्वजनिक गरिसक्नु पर्ने संविधानमा उल्लेख । बजेट कहिले सार्वजनिक गर्ने भन्ने बारे कुनै छलफल नभएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । ‘असारभित्रै कुनै दिन घोषणा हुन्छ’, उनले भने, ‘तर कहिले गर्ने भन्ने बारे अझै छलफल भएको छैन ।’ चुमनुब्री गाउँ पालिका हिमालपारि रहेको गाउँपालिका हो । दुर्गम भएकाले सबै कुरा निर्धारित समयमै हुन नसक्ने गाउँपालिकाले जनाएको छ ।
सिरानचोक गाउँपालिकाले पनि बजेट कहिले सार्वजनिक गर्ने भनेर टुंगो लगाएको छैन । ‘हामी एक दुई दिनभित्रै बजेट ल्याउने छौं’, गाउँपालिकाका प्रमुख राजु गुरुङ भन्छन्, ‘मितिको बारेमा छलफल गर्न बाँकी नै छ ।’
भीमसेन थापा गाउँपालिकाले पनि बजेट घोषणा गर्ने मिति नतोकिसकेको गाउँ पालिका प्रमुख इश्वर पाण्डेले जानकारी दिए । आरुघाट गाउँ पालिकाले आगामि शुक्रबार मात्र बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएकोछ छ । ‘असार १३ गते हामी सार्वजनिक गछौँ’,गाउँपालिका प्रमुख पूर्ण दाहालले भने ।
११ स्थानीय तहमध्य गोरखा नगरपालिका, पालुंटार नगरपालिका, अजीरकोट गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, धार्चे गाउँपालिका, शहीद लखन गाउँपालिका र गण्डकी गाउँ पालिकाले भने निर्धारित समयभित्रै नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरिसकेका छन् ।




