
सांसद दवाडीले सोधे : आफ्नो निर्वाचन क्षेत्रमा कार्यक्रम पार्न मन्त्री नै हुनुपर्ने हो ?
गण्डकी प्रदेस सरकारले ल्याएको बजेटमाथि संसदमा छलफलको क्रममा गोरखाबाट निर्वाचित सांसद प्रकासचन्द्र दवाडीले आफू प्रतिपक्षी सांसद भएका कारण आफ्नो निर्वाचन क्षेत्रमा बजेट तथा कार्यक्रम कम परेको र बिगत बर्षको बजेट कार्यक्रम पनि काटिएको भन्दै आक्रोश पोखे ।
‘गोरखाको बारपाक सुलीकोट, सिरानचोक र अजीरकोटको कार्यक्रम हेर्दा हामीले छलफल गरेर सिफारिस गरेका कार्यक्रम काटिएका छन्, मन्त्रीज्यूको खल्तीका कार्यक्रम परेका छन्’ दवाडीले भने, ‘के आफ्नो निर्वाचन क्षेत्रमा बजेट र कार्यक्रम पार्न मन्त्री नै हुनुपर्ने हो ? आफ्नो निर्वाचन क्षेत्रमा ठूलो बजेट, अरुको निर्वाचन क्षेत्रमा सानो बजेट छ । यही हो समानुपातिक विकास ?’ गतबर्ष ५० लाख रुपैंया बजेट परेको ग्याजी, रातामाटे, खार्चोक भञ्ज्याङ अपूरो छ, तर यसबर्ष बजेट काटिएकोमा उनले दुख ब्यक्त गरे ।
विकासको काममा राजनीति नगर्न उनले सुझाव दिए । ‘के विकासमाथि राजनीति गर्न सरकार बनाएका हौं, हामीले’, उनले प्रश्न गरे, ‘राजनीतिक विचारको आधारमा अँधेरीखोला मालुङ्टार सिँचाइ योजना चराले पात टिपे झै टपक्क टिपेर फालिएको छ । बारपाक जत्तिको ठाउँमा बजेट सुन्य छ । यो जनताको सरकार हो कि कार्यकर्ताको पार्टी कार्यालय हो ?’




