| आइतवार, कार्तिक २९, २०८३

प्रदेशबाट गोरखा नगरपालिकाभित्र १७ योजनाका लागि १५ करोड बिनियोजित(योजना र बजेटको सूचीसहित)

 

अनुपमा खनाल :

गण्डकी प्रदेश सरकारले गोरखा नगरपालिकाभित्र १७ योजनाका लागि १५ करोड १९ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको बजेट पुस्तिकाअनुसार गोरखा नगरपालिकाभित्र तीन सडक, खानेपानी र सिञ्चाईका चार(चार, दुई भवन, तीन मोटरेबल पूल र एक झोलुङ्गे पूलका लागि बजेट बिनियोजन गरिएको छ ।

गण्डकी सरकारले गोरखा नगरपालिकामा तीनवटा सडकका लागि सात करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले नारेश्वर पँडिनीचौतारा निबेल ताकुकोट सडक पिचका लागि छ करोड, नयाँबजार मान्द्रेढुंगा छेबेटार सडकका लागि ५० लाख र पाटेचौर रानीवन पन्थेश्वाँरा पिपलथोक भिमसेनपार्क गोरखा सडकका लागि एककरोड रुपैयाँ विनियोजन गरेको हो । आवास भवन अन्तरगत गोरखा नगरपालिका ९ छेबेटारमा ज्येष्ठ नागरिक आवास निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ र शहिद स्मृति भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । गोरखा नगरपालिकाभित्र तीन ठाउँमा मोटरेवल पुल निर्माणका लागि पनि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । बजेट पुस्तिकाअनुसार दुईवटा पूल निर्माणका लागि ५३(५३ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

जसअन्तरगत दरौंदीनदी पुल जरेबर र गोरखा नगरपालिका ११ र पालुङटार नगरपालिका ९ जोड्ने पुल छन् । यस्तै, नयाँसाघु पूल निर्माणका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, गोरखा नगरपालिका ३ मा कुमालगाउँ चोरकाटे दरौंदी झोलुङ्गे पूल निर्माणका लागि एककरोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारअन्तरगत नै गोरखा नगरपालिकाभित्र चारवटा खानेपानी आयोजना बन्ने भएका छन् । गोरखा नगरपालिका १३ मा बिचकरी लिफ्टिङ खानेपानी आयोजनाका लागि दुई करोड, गोरखा नगरपालिका १४ मा ढोडखोला ढुंगा गडेभन्ज्याङ पम्पिङ खानेपानी आयोजनाका लागि २५ लाख रुपैयाँ, गोरखा नगरपालिका १२ मा स्याउली खानेपानी आयोजनाका लागि २१ लाख रुपैयाँ र गोप्लिङ चिसापानी लिफ्ट खानेपानी आयोजनाका लागि २५ लाख रुपैयाँ बिनियोजन भएको छ ।

सिञ्चाईका चारवटा योजनाका लागि पनि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । जसअन्तरगत कुन्दुरटार इन्भेस्टिगेशन डिप ट्युवेल सिञ्चाई योजनाका लागि २० लाख रुपैयाँ, कुन्दुरटार सिञ्चाई योजना का लागि ८ लाख ८६ हजार, गोरखा अबुवा टयुवेल सिञ्चाई प्रविधिका लागि १५ लाख रुपैयाँ र देउरालीमा सिम्लेफाँट याङकोट नयाँ प्रविधि सिञ्चाई योजनाका लागि तीनलाख ५१ हजार रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्