| आइतवार, कार्तिक २९, २०८३

लुइँटेलभञ्ज्याङ, भच्चेक सडक कालोपत्रे सम्पन्न, भूकम्पपीडितलाई कालोपत्रे सडक उपहार

चारबर्षअघिको भूकम्प सिरानचोक र अजीरकोट गाउँपालिकाका बासिन्दालाई बिर्सिनसक्नु खाटो बनेर रहेको छ । तर भूकम्पपछि भएको विकास पनि उनीहरुका लागि बिर्सिनसक्नु छ । भूकम्पपछि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको भूकम्पीय आपत कालीन सहायता परियोजनाले दुई गाउँपालिकाका बासिन्दालाई ३० किलोमिटर कालोपत्रे सडक उपाहार दिएको छ ।
चैत लागेदेखि नै गाडी नचल्ने सडक कालोपत्रे भएपछि स्थानीयमा खुशी छाएको छ । ‘पोहोर साल चैत महिनादेखि भच्चेकमा गाडी अबरुद्ध थियो । बस नचलेपछि बाह्रकिलोदेखि भच्चेकसम्म जीपको भाडा एकहजार तिर्नुपथ्र्यो’, अजीरकोट गाउँपालिका ३ का वडा अध्यक्ष तयराज गुरुङ भन्छन्, ‘यो बर्ष ३० किलोमिटर सडक कालोपत्रे भयो । अब डेढसय रुपियाँ भाडातिरेर बाह्रै महिना पिच रोडमा सरर गाडी चल्ने भयो ।’ सहायता परियोजनाले पालुङटारदेखि भच्चेकबजार नजिकैको नयाँगाउँसम्म सडक कालोपत्रे गरिसकेको उनले बताए ।


अँबुवादेखि भच्चेकसम्मको ५२ किलोमिटर सडक निर्माणको काम २०५६ सालदेखि सुरु भएको वडा अध्यक्ष गुरुङले जानकारी दिए । २० बर्षसम्म कच्ची सडकको सास्तीपछि गोरखा क्षेत्र नं २ का बासिन्दाले अहिले कालोपत्रे सडकमा गाडी चड्न पाएका वडाअध्यक्ष गुरुङ बताउँछन् । ‘गाउँमा पिच सडक आएपछि सिरानचोक र अजीरकोट गाउँ पालिका का बासिन्दा खुशी छन् । गाउँपालिकाले पनि बिभिन्न कार्यक्रम तय गरेको छ’, वडा अध्यक्ष गुरुङले भने, ‘सिरानडाँडामा हाइअल्टिच्यूड रंगशाला निर्माणको काम सुरु भइसकेको छ । नम्कीमा होमस्टे सञ्चालन भएको छ । अब यहाँ जैविक खेती गरी एग्रो टुरिज्मको विकास गर्ने कार्यक्रम बनाएका छौं ।

’ सडक कालोपत्रे भएपछि अब यहाँ अत्याधिक उत्पादन हुने अलैंची तथा अन्य जडिबुटीले बजार पाउने भन्दै किसानहरु खुशी भएको उनले बताए । सडक कालोपत्रे भएपछि सिरानचोक गाउँपालिका र अजीरकोट गाउँपालिकाका बासिन्दा खुशी भएका सिरानचोक १ का उत्तम गुरुङको भनाइ छ । ‘बर्खा लागेपछि गाउँमा गाडी आउँदैनथ्यो । गाडी भेट्न कहाँकहाँ पुग्नुपथ्र्यो’, उनले भने, ‘अहिले त घरघरमा गाडी कुदेको छ । बिरामी भए भने पनि तत्काल सहरको अस्पतालसम्म पुग्न सजिलो हुने भयो । हुनसम्म रमाइलो भएको छ ।’ लुइँटेल भञ्ज्याङदेखि तार्के डाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्टूक्शनले र दोस्रो प्याकेज अन्तर्गत तार्केडाँडादेखि नयाँगाउँ सम्मको १३ किलोमिटर सडक लामा कन्स्टूक्शनले निर्माण सम्पन्न गरेका हुन् । एशियाली विकास वैंकको ७० करोड रुपैंया सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा सो सडक कालोपत्रे गरिएको हो ।

गाउँको सडक कालोपत्रे भएपछि सस्तोमा दैनिक उपभोग्य सामग्री पाउने भन्दै स्थानीय खुशी भएका छन् । ‘बर्खामा गाडी आउँदैनथ्यो । बर्खाका लागि चाहिने सामान हिउँदमै जोहो गर्नुपथ्यो’ केराबारीका सेवाराज गुरुङले भने, ‘अब ती दिन गए । चाहिएको सामान, सस्तो भाडामा बाह्रै महिना पाइने भयो ।’


विकास नियमित प्रक्रिया भएपनि भूकम्पका कारण छिटो विकास पाएको जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख रामशरण आचार्यले बताए । ‘ढिलो छिटो सो सडक कालोपत्रे त हुन्थ्यो, तर भूकम्पले गर्दा चाँडो भएको हो’, प्रमुख इञ्जिनियर आचार्यले भने, ‘गाउँका भूकम्प पीडितको चोटमा मल्हम लगाउने काम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्