| आइतवार, कार्तिक २९, २०८३

धुवाँकोटको कोटगडी, सिद्धबाबा र तामाखानी प्रवद्र्धन गर्न स्थानीयको प्रयास

अनुपमा खनाल :

पालुङटार नगरपालिका वडा नं ८ र ९ को धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण तथा प्रबद्र्धनका लागि स्थानीय सक्रिय भएका छन् । साविक धुँवाकोट गाविसमा पर्ने सिद्धबाबा मन्दिर, धुवाँकोट कोटगडी र तामाखानीको प्रबद्र्धनमा स्थानीय बासी जुटेका हुन् ।
साबिक धुवाँकोट, च्याङ्ली र देउ राली गाविसका बासिन्दाको आस्था र भरोसाको रुपमा रहेको सिद्धबाबा मन्दिरमा हरेक महिनाको पहिलो र अन्तिम मंगलबार गाउँलेले पुजा गर्दै आएका छन् । धुवाँकोटडाँडाको शीरमा गुफाभित्र रहेको मन्दिरमा मगर र गुरुङ समुदायको कुमार केटामात्र पुजारी रहने चलन छ । हरेक पूजामा बाबालाई चामलको पिठोको रोट पढाउने परम्परा रहेको सिद्धबाबा पुजाआजा समितिका अध्यक्ष कलाकार रानाले जानकारी दिए । यसरी पुजा गर्दा सिद्धबाबाले गाउँलेको संरक्षण गर्ने जनविश्वास रहेको रानाले विश्वास गरे ।
‘चार पाँच सय बर्ष पहिले आफ्नो घरमा आजापुजा, कार्य हुँदा यहाँ आएर बाबालाई निम्तो दिने चलन थियो’, उनले भने, ‘निम्तो दिएको भोलिपल्ट त्यो कार्यलाई चाहिने ग्रागी, ताउलो लगायतका भाडाकुँडा मन्दिरअघि हुन्थ्यो भन्ने किंवदन्ती छ । आफ्नो काम सकेपछि फेरि यही ल्याएर राखीदिने चलन थियोे । तर एकदिन भाडा फिर्ता गर्दा जुठो परेपछि बाबाले चिजबिज दिन छाडेको भन्ने सुनिन्छ ।’ सिद्धबाबाको दर्शन तथा पुजाआजा गर्नाले मनको इच्छा पूरा हुने उनको विश्वास छ । ‘दुख पर्दा बाबालाई पुजाआजा गर्ने सम्झने गरिन्छ’, उनले भने, ‘उहाँको कृपाले हाम्रो गाउँभर अहिलेसम्म रोगब्याधी छैन । हामी पल्टनमा हुँदा पनि बाबालाई सम्झने गथ्र्योै । उहाँको कृपाले गर्दा यहाँका लाहुरेहरु लडाईमा एक जनापनि मरेनन् ।’


१० बर्षसम्म मन्दिरको पुजारी बनेका खड्गबहादुर रानाले परम्परागत रुपमा पुजाआजाको ब्यबस्था मिलाउन आग्रह गरे । ‘अर्घेली नगर्नु, पुख्र्यौली नछोडुनु भन्छन्’ उनले भने ‘पहिले पहिले यहाँ झिर्मास, भन्ज्याङ, च्याङली, सिस्नेरी, झाँक्रा लगायतका ठाउँबाट पूजा गर्नेको घुईचो हुन्थ्यो । अहिले हराउँदै गयो । सिस्नेरी गाउँलेले नै महिनामा चारपटक पूजा गर्थे, अहिले दुई पटक मात्रै पुजा हुन्छ । अब पछि त्यही पनि छोड्दै जालान् भन्ने डर छ । हाम्रो पुर्खादेखि चलेको रीतिथिती जोगाउन सबैले सहयोग गर्नुहोला ।’ मन्दिरमा पुजा गर्ने क्रममा जुठोसुतक परेको अक्षता परेमा संकेतका रुपमा सिद्धबाबाको बाहन बाघ कराउने गरेको स्थानीयको भनाई छ ।
सिद्ध बाबा मन्दिरमा पूजाका लागि सिस्नेरी गाउँबाट चामल संकलन गरिने गाउँका कटुवाल ठाकुरबहादुर गुरुङले बताए । ‘सिस्नेरीकोे ७५ घरधुरीबाट अक्षता र रोटका लागि एक÷एक माना चामल उठाउछु’ उनले भने ‘मन्दिरमा रोट चढाएपछि प्रसादका रुपमा गाउँलेलाई पनि रोट बाड्ने चलन छ ।’
नयाँ बाली आएपछि सिद्धबाबालाई चढाएर मात्रै स्थानीयले प्रयोग गर्ने चलन रहेको उनले बताए । खडेरी हुँदा मन्दिरमा जलधारा गरेपछि पानी पर्ने उनीहरुको विश्वास छ ।
स्थानीयको आस्था र भरोसालाई सम्बोधन गर्दै वडा कार्यालय र नगरपालिकाले मन्दिर क्षेत्रमा धार्मिक पर्यटन प्रबद्र्धनका लागि साथ दिएको छ । चालु आर्थिक बर्ष मन्दिरसम्म पुग्ने बाटो स्तरोन्नतीका लागि पाँचलाख रुपैयाँ विनियोजन गरेको थियो ।
सिद्धबाबा मन्दिर सँगै रहेको धुँवाकोटमा बाइसे चौबिसे रजौटाले राज्य गरेको स्थानीयले बताएका छन् । सो क्षेत्र ऐतिहासिक धार्मिक थलो भएकाले पर्यटन प्रबद्र्धनमा ध्यान दिनुपर्ने स्थानीय शिक्षक रुद्र उप्रेतीले बताए । ‘यहाँ धुवाकोटमा रहेको दरबारका भग्नावशेष उत्खनन गरेर इतिहास खोजी गर्नु जरुरी छ’, उनले भने, ‘पूर्वाधार विकास गरेर पर्यटकलाई अकर्षण गर्न सकिन्छ । होमस्टे सञ्चालन गर्नुपर्छ । यहि क्षेत्र र तनहुँको बन्दिपुर जोड्ने केबलकार निर्माण गर्नु पनि उपयुक्त हुन्छ ।’


वडा र गाउँपालिकाले ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई प्रबद्र्धन गर्ने योजना बनाएको पालुङटार नगरपालिका वडा नं ९ का अध्यक्ष भेजराज पाण्डेले बताए । ‘ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका क्षेत्रलाई संरक्षण र विकास गर्ने हाम्रो योजना छ’, उनले भने, ‘तामाखानी, धुँवाकोट र सिद्धबाबालाई समेटेर पर्यटन प्रबद्र्धनको योजना बनाउनेछौं ।’ पालुङटार स्मार्ट सिटीको डिपिआरमा पनि सो विषय उल्लेख भएको उनले जानकारी दिए । ‘स्मार्ट सिटीको डिपिआर तयार हुँदैछ’, उनले भने, ‘लिगलिगकोट, कोटगढी, सिद्धबाबा हुँदै अकलाबाट तनहुँ जोड्ने पदमार्ग तयार पार्ने योजना छ । यसले पनि यो क्षेत्रको प्रबद्र्धनमा सघाउँछ भन्ने विश्वास छ ।’ सिद्धबाबा आसपासका क्षेत्रमा साउनको दोस्रो सातासम्ममा भूगर्भविद् बोलाएर तामाखानीको सम्भाब्यता अध्ययन गर्ने वडा कार्यालयको योजना छ । पालुङटार नगरपालिका वडा नं ८ का अध्यक्ष शंकर कँडेलले सो क्षेत्रमा पुर्वाधार विकास गरेर पर्यटन प्रबद्र्धन गर्न सकेमा स्थानीयको आम्दानी पनि बढ्ने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्