
बारपाकमा भूकम्प स्मृति पार्कको काम साउनबाट सुरु हुने
अनुपमा खनाल :
राष्टिूय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक(पार्क)’ बनाउने काम आउँदो आर्थिक वर्षबाट सुरु गर्ने जनाएको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आउँदो आर्थिक वर्षबाट सुरु गर्नेगरी बजेटको व्यवस्था गरिएको जानकारी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले दिए ।
बुधबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले त्यसका लागि आवश्यक पानी, बाटो, पाटीपौवा लगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीव्रता दिइरहेको पनि स्पष्ट पारे । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पानीको स्रोतको व्यवस्थापनमा कठिनाइ भएकाले पनि पार्क निर्माणको कामलाई अघि बढाउन ढिलाइ भएको पनि स्पष्ट पारे ।

प्राधिकरणले भूमिहीनहरुको पुननिर्माणको कामलाई अघि बढाउन दुईलाख नगद वा उनीहरुले चाहेको ठाउँमा जग्गाको लालपूर्जा उपलब्ध गराउने कामलाई पनि अघि बढाइएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूमिहिनलाई जग्गा उपलब्ध गराएर पुनर्निर्माणको कामलाई अघि बढाउन आवश्यक कार्यविधि तय गरिएको र त्यसलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राचीन मौलिकता नहराउने गरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दावी पनि गरे ।
प्राधिकरणले समितिलाई बुझाएको कार्य प्रगति विवरणमा निजी आवास पुनर्निर्माणको कामलाई चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने दावी गरिएको छ । त्यसैगरी सम्पदाहरुको पुननिर्माण को कामलाई तीव्रता दिन सुरु गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
बैठकमा समितिका सदस्यहरुले भूकम्प पीडितहरुको जीविको पार्जनको विषयलाई पनि प्राथमिकतामा राखेर अघि बढाउन प्राधिकरणलाई सचेत गराएका थिए ।




