
पालुङ्टारको विद्युत सव–स्टेशन सञ्चालनमा
किरण लोहनी – नेपाल विद्युत प्राधिकरणले पालुङटारमा निर्माण गरेको सवस्टेशन सञ्चालनमा आएको छ । एशियाली विकास बैङ्क एडिबिको सहयोगको प्राधिकरण अन्तर्गतको आयोजना विकास निर्देशनालयले सवस्टेशन निर्माण गरेको हो ।
सवस्टेशन निर्माणमा झण्डै १० करोड रुपैया खर्च भएको प्राधिकरणले जनाएको छ । सबस्टेशनमा ८ एमभिए क्षमताको टूान्सफर्मर राखिएको छ । त्यहीँबाट गोरखाको पालुङटार सहित सिरानचोक, अजिरकोट र वारपाक सुलिकोट गाऊँपालिकाका विभिन्न क्षेत्रमा विद्युत वितरण हुने छ ।

यसअघि डुम्रेस्थित सवस्टेशनबाट सिधै गोरखाका विभिन्न क्षेत्रमा विद्युत वितरण हुँदै आएको थियो । लामो दुरीसम्म विद्युत वितरण गर्नुपर्दा चुहावट लगायतका समस्या देखिने गरेको थियो । अब भने यी सबै समस्या समाधान भएको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए । ‘अब पालुङटार लगायतका क्षेत्रमा बिजुलीको समस्या रहँदैन’, उनले भने ‘हामीसँग पालुङटारको ८ एमभिए क्षमतामध्ये अहिले १ एमभिए मात्र विद्युत प्रयोगमा छ । बाँकी ७ एमभिए विद्युत उद्योग लगायतका क्षेत्रमा दिन सक्छौ । उद्योगधन्दालाई पनि अब पर्याप्त विजुली दिन सक्ने अबस्था बनेको छ ।’
सब स्टेशन चालु भएसगै हाल पालुङटार नगरपालीकाको ठाँटी पोखरी, हवाईग्राउण्ड, बाह्रपिर्के लगायत क्षेत्रमा विद्युत वितरण गरिएको छ । असारभित्रै भच्चेक र गाईखुरतर्फ विद्युत वितरण हुने गरी दुईवटा फिडरलाइन थप गर्ने योजना रहेको न्यौपानेको भनाई छ । सब स्टेशन निर्माणपछि भोल्टेज कम हुने समस्या पनि हटेको उनले जानकारी दिए । तनहुँतर्फ विद्युत लाइनमा समस्या हुँदा गोरखामा विजुली जाने गरेकोमा सव स्टेशन निर्माणपछि त्यसको पनि समाधान भएको गोरखा वितरण केन्द्र प्रमुख न्यौपानेको भनाई छ ।
पालुङटार र आसपासको क्षेत्रमा माग अनुसार विद्युत वितरण गर्न पनि सक्षम भएको उनले जानकारी दिए । सब स्टेशन नभएकै कारण यसअघि माग अनुसारको विद्युत आपूर्ति हुन सकेको थिएन । प्राधिकरणले जौवारी र थालाजुङ आसपास एउटा र घ्याम्पेसालमा अर्को सब स्टेशन पनि निर्माण गरिरहेको छ । जौवारीमा जग्गा प्राप्तिको क्रम चलिरहेको छ भने घ्याम्पेसालमा सब स्टेशन निर्माणको करीव ५० प्रतिशत काम पूरा भएको छ । थप दुई वटा सब स्टेशन निर्माण भएपछि जिल्लाभरको विद्युत वितरण प्रणालीमा ब्यापक सुधार हुने विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख न्यौपानेले जानकारी दिए ।




