
भुलुभुलेखारको संरक्षणका लागि स्थानीय तहको पहल
गोरखाको खोप्लाङस्थित तातोपानी कुण्ड भुलुभुलेखारको संरक्षणका लागि स्थानीय तहले पहल थालेको छ ।
हिउँदमा तातो र गर्मीयाममा चिसो पानीको स्रोत भुलभुलेखारको उचित संरक्षण हुन सकेको थिएन । पालुङटार नगरपालीका वडा नम्वर १ मा पर्ने सो स्थलको संरक्षणका लागि गुरुयोजना बनाएरै अघि बढ्न लागिएको वडाध्यक्ष कृष्णबहादुर परियारले बताए ।
‘संरचना निर्माण लगायतका कामका लागि गुरुयोजना निर्माण सहित विस्तृत आयोजना प्रतिवेदन डिपिआर बनाउने काम सम्पन्न भैसकेको छ’ उनले भने, ‘अब आवश्यक जग्गाको जोहो गरि यही वर्षबाट काम थाल्छौं ।’ गत वर्ष वडा कार्यालयले विनियोजन गरेको साढे २ लाख रुपैयाबाट पानीको स्रोत संरक्षण र कुवा बनाउने काम भएपनि यो वर्षबाट भने थप संरचना निर्माणको काम गरिने वडाध्यक्ष परियारले बताए । सो क्षेत्रमा ब्यवस्थित कुण्ड, वगैंचा लगायतका संरचना बनाउने लक्ष्य रहेको उनको भनाई छ ।
तर अहिले कुण्ड आसपास जम्मा १४ आना मात्रै सरकारी जग्गा रहेकाले थप जग्गा ब्यवस्थापनको काम पनि गरिने उनले जानकारी दिए । कुण्ड आसपासका ब्यक्तिको जग्गा अधिग्रहणका लागि कुराकानी शुरु गरिएको परियारले बताए । थप संरचना निर्माण गरि तातोपानी कुण्ड विस्तार गर्न करीव १० रोपनी जग्गा आवश्यक पर्ने अनुमान गरिएको छ । ‘जग्गाको खोजी शुरु गरिएको छ’ उपप्रमुख पम्फा बसेलले भनिन्, ‘जग्गा प्राप्त भैसकेपछि संरचना निर्माणको काम थाल्छौं ।’ पालुङटार छेवेटार सडकखण्डबाट कुण्ड सम्मको पैदलमार्ग निर्माणका लागि चालु आर्थिक वर्ष १० लाख रुपैया विनियोजन गरेको उनले जान कारी दिइन् ।
भुलभुलेखारमा करीव २५ वर्ष अघिबाट तातोपानी निस्कन शुरु गरेको स्थानीय बमबहादुर देवकोटाले बताए । उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको सो स्थललाई ब्यवस्थित गर्न स्थानीय बासिन्दाकै सक्रियतामा समिति पनि बनाइएको छ । तातोपानी कुण्डमा माघस्नानका लागि भक्तजनको विशेष उपस्थिति रहने गर्दछ । अन्य समयमा पनि स्थानीय बासिन्दा स्नानका लागि सो कुण्डमा पुग्ने गर्दछन् । विरेनुनको गन्ध आउने त्यहाँको पानीमा औषधीय गुण रहेको हुनसक्ने स्थानीयको अनुमान छ । यसप्रकारको तातोपानीमा नुहाउँदा छालाका रोग र वाथ रोग निको हुने विश्वास गरिन्छ ।




