
बारपाक सडक निर्माणमा आलटाल नगर्न ठेकेदारलाई मुख्यमन्त्रीको आग्रह
अनुपमा खनाल :
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बारपाक सडक कालोपत्रे गर्ने काममा ढिला भइरहेको भन्दै ठेकेदारलाई लापरबाही नगर्न सचेत गराएका छन् । २०७२ सालको भूकम्प लगत्तै बारपाक पुगेर प्रधानमन्त्री केपी शर्मा वलीले दुईबर्षभित्र बारपाकसम्मको सडक कालोपत्रे हुने बताए पनि ठेकेदारले काममा ढिला गरेको बारे स्थानीयबासीको गुनासो सुनेपछि उनले सडक निर्माणमा लापरबाही नगर्न ठेकेदारहरुलाई निर्देशन दिएका हुन् ।
‘यो सडक संघ सरकार मातहत बन्दैछ, त्यसैले मैले एक्सन लिन मिल्दैन’, स्थानीय हिमालय माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘तर, हाम्रो प्रदेशको महत्वपुर्ण सडक हो, त्यसैले अब म पनि यसलाई गम्भीरताका साथ लिन्छु । यसको निगरानी गर्नु मेरो पनि दायित्व पनि हो ।’ सडक निर्माणमा भएका कामको निगरानी गर्न उनले स्थानीय बासिन्दालाई पनि आग्रह गरे । ‘यो सडकको काम हेर्नुहोस्, बारपाकबासी जोसुकैले पनि मलाई ब्यक्तिगत रुपमा सिधा सम्पर्क गरेर बाटोको प्रगतिबारे भन्नुहोस्, यसको प्रगतिका लागि मेरो तहबाट गर्नुपर्छ गर्छु ।’
गण्डकी प्रदेशले विकास निर्माण लाई गति दिन समयमै काम सक्नेलाई ठेक्काको १० प्रतिशत रकमले पुरस्कृत गर्ने र नसक्नेलाई १० प्रतिशत जरिवाना गराउने नीति लिएको उनले जानकारी दिए ।
भूकम्पको केन्द्रबिन्दु बारपाकको पुनर्निर्माण अन्तिम चरणमा पुगेकाले अब आयआर्जन वृद्धिमा केन्द्रित हुन उनले स्थानीय बासिन्दालाई आग्रह गरे । ‘यहाँ कृषि, पर्यटनमा सामुहिकता देखिन’, उनले भने, ‘पर्यटन र कृषिमा ध्यान लगाउनुहोस् । प्रदेशले के गर्नुपर्छ हामी गर्छौँ । होमस्टे, अर्गानिक खेती लगायतमा हामीले अनुदान दिन्छौ । तपाईहरु आत्मनिर्भर बन्नुहोस ।’ कोसेली बाँडे झै प्रदेश सरकारले अनुदान नबाँड्ने उनले स्पष्ट पारे ।
बारपाक गाउँभित्रको शाखा बाटो र ढल ब्यबस्थापन गर्न भन्दै वडाअध्यक्ष रोशन विकले मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाएका छन् ।




