| आइतवार, कार्तिक २९, २०८३

गोरखाकी रीताद्वारा जातीय विभेद अन्त्यको लक्ष्य राखी मेची काली पैदल यात्रा

गोरखा : पैदल यात्रा गरेकै भरमा ठूलो परिवर्तन आउला, विद्यमान जातीय विभेद उन्मुलन होला, क्रान्ति नै होला भन्ने उनले पनि आशा गरेकी त होइनन् तर जातीय छुवाछुतबिरुद्ध देशव्यापी माहोल बन्ला र दलित समुदायको पक्षमा एउटा मुमेन्ट आउला भन्ने सोचेर उनी मेचीकाली अभियानमा निस्केकी हुन् ।

उनी अर्थात गोरखा नगरपालिका ६ की ३०, ३२ बर्षे नारी, रीता परियार . त्यसमाथि पनि दसौं बर्ष लण्डन सहरमा बसेर फर्केकीले पैदल हिडेर मेची काली छिचोल्ली भनेर उनको परिबारले पनि सोचेका थिएनन् । साथीसंगीले त उनको कुरा सुन्दा खिसी गरेका थिए । तर उनका कपिलबस्तुका होमराज आचार्य र काठमाडौंका अशोक दर्नालको साथ पाएपछि उनी गत चैत ३ गते चाँदनी दोधारा नगरपालिकाबाट मेचीनगरको काँकडभिट्टासम्मका लागि साइत गरिन् ।

यात्राका लागि उनी गोरखाबाट काठमाडौं गई, काठमाडौंबाट जहाजमा महाकाली पुगेकी थिइन् । साइतका बेला चाँदनी दोधारा नगरपालिकाका मेयर वीरबहादुर सुनारले टीका लगाएर उनीहरुको टोलीलाई शुभकामना दिदै विदा गरेका थिए ।
‘सानो छँदा आफू जन्मेको गाउँमा भोगेको छुवाछुतको पीडा मनमा छँदैथियो । केही समय लण्डनमा बस्दा बिर्सिए पनि अनलाइनहरुमा समाचार पढ्दा आफ्नो गाउँको अबस्था नोस्टाल्जिक हुन्थ्यो । अनि नेपाल गएर घनीभूत रुपमा देशव्यापी अभियान सञ्चालन गर्ने मनमनै प्रण गरेकी थिएँ’, यात्रा सम्पन्न गरेपछि परियारले भनिन्, ‘अशोक दर्नाल र होमराज आचार्यले साथ दिने बचन दिनुभएको थियो । त्यही हौसलाले जातीय भेदभावविरुद्धको मेची–काली यात्रा सुरु गरेको हुँ ।’

संविधानले जातीय भेदभाव अन्त्य गरे पनि व्यबहारमा यथावत रहेकोप्रति उनी मनमनै कुँडिएका थिइन् । त्यसैले मेचीदेखि महाकालीसम्मका दलित समुदायको अवस्था संकलन गर्ने, कुनै राम्रा अभ्यास भएका छन् भने त्यसको प्रचारप्रसार गर्ने उद्देश्यले यात्रा सुरु गरेको उनी बताउँछिन् ।

मेची–काली पार गर्न उनले ५४ दिन खर्च गर्नुपझ्यो । सो अवधिमा तेह्रसय २८ किलोमिटर पैदल यात्रा पार गरिन् । उनले आफूले हिडेको महेन्द्र राजमार्ग आसपासको एकसय चार पालिकामा पुग्ने अवसर पाइन् । सो आसपासको ८७ बस्तीमा पुगेर दलितको अबस्था बारे जानकारी दिएपछि गत बैशाख ३० गते मेची नगरपालिकाको काकडभित्तामा त्यहाँका मेयर बिमल आचार्य र वडा सदस्य टिका मग्रातीले उनीहरुको यात्रा समापनको औपचारिक घोषणा गरेका थिए ।
यो अवधिमा धेरै ठाउँमा जातीय छुवाछुतका नमिठा घटना सुन्नु परेको उनी सुनाउँछिन् । ‘धेरै ठाउँमा त जातीय छुवाछुतका अति दर्दनाक घटना पनि सुन्नुप¥यो’, परियारले भनिन्, ‘धेरै ठाउँमा उजुरी नै नगरी सहेर बस्ने चलन रहेछ । उजुरी परिहाले भने पनि धेरै ठाउँमा त्यस्ता घटना मिलापत्र गरेर छाडिने चलन पाइयो । मुद्धालाई राजनीतिकरण गरेर बिषयान्तर गरेको पनि पाइयो ।’ भौतिक पूर्वाधार विकास धेरै भए पनि पछिल्लो समय जातीय विभेद तथा छुवाछुतको अबस्था ज्यूँकात्यूँ रहेको उनको निश्कर्ष छ । ‘७९ बर्षअघि सर्वजीत बिकले सुरु गरेको जातीय विभेद अन्त्यको नारालाई फेरि एकपटक सशक्त बनाउनु पर्छ भन्ने लागेर मैले यो यात्रा गरेको हुँ’, उनी भन्छिन्, ‘अहिले निर्वाचित जनप्रतिनिधिले पनि जातीय विभेदको अन्त्य गर्न खासै खाका बनाएर काम गरेको पाइन । जातीय विभेदको अबस्था समाजमा ज्यादै जर्जर अबस्थामा रहेको छ ।’

जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्य गर्न केही समयमै सार्कस्तरीय नागरिक सम्मेलन गर्ने योजना रहेको उनी बताउँछिन् । ‘७७ वटै जिल्लामा चेन्च मेकरहरु बनाउँछौं । पाठ्यपुस्तकमा पनि जातीय छुवाछुत विरुद्धका पाठहरु राख्न सरकारलाई सुझाव दिन्छौं’, उनले भनिन्, ‘जातीय नारा र छुवाछुत व्यवहारिक रुपमाले अन्त्य गरौं भन्ने नारालाई व्यापक बनाउँछों ।’ अबको छ महिनाभित्रै सार्कस्तरीय नागरिक सम्मेलन गर्ने तयारी गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्