| आइतवार, कार्तिक २९, २०८३

आफ्नो वडा कार्यालय आफ्नै वडाभित्र राख्न माग

गोरखा नगरपालीका वडा नम्वर ७ का बासिन्दाले आफ्नो वडा कार्यालय आफ्नै वडाभित्र हुनुपर्ने माग गरेका छन् ।
उनीहरुले आफ्नै वडामा वडा कार्यालय स्थापनाको माग गर्दै वडाबासीको हस्ताक्षर संकलन गरी वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ र मेयर राजनराज पन्तलाई ज्ञापन पत्र बुझाएका छन् ।

स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि वडाभित्र कार्यालय स्थापना नगरिएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । आफ्नै वडाबाट सेवा लिन पाउनु पर्नेमा संघीयताको मर्म विपरीत नगरपालीका कार्यालयबाट सेवा सञ्चालन गरिएको वडावासी हरि सिर्मलले बताए । ‘अरु वडा कार्यालय आफ्नै ठाउँमा छ, हाम्रो मात्रै किन नगरपालिका पुग्नुपर्ने ?’ उनले भने ‘हामी वडाको सिफारीस लिन पनि धाएर नगरपालिका नै पुग्नुपर्ने, जनप्रतिनिधिले त सुख पो दिने हो तर हामी वडाबासीलाई दुख भएको छ ।’
साविकको वडा नं २ र ५ मिलेर वडा नं ७ बनाईएको हो । त्यसैले वडाबासीको भेला गरेर सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय स्थापना गर्न उनीहरुले माग गरे । वडाभित्र नै विभिन्न भवन प्रयोग विहिन अबस्थामा रहेकोले तीमध्य कुनै एक कार्यालयलाई वडा कार्यालय बनाउनु पर्ने स्थानीय धुब्र श्रेष्ठले बताए ।

‘पञ्चायतकाल देखिको भवन रोहटेपानीमा छ । डण्डीडाँडामा पनि अर्को सरकारी भवन  खाली छ’ उनले भने ‘कार्यालय वडाभित्र जहाँ राखेपनि हुन्छ । तर हामीले हाम्रै वडाबाट सेवा पाउनुप¥यो । सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ ।’ नगरपालिकाका सबै वडामा कार्यालय स्थापना भैसक्दा पनि वडा नम्वर ७ मा भने कार्यालय स्थापना भएको छैन । जसकारण गोरखा नगरपालीका कार्यालयको एउटै कोठाभित्र वडा नं ७ र ८ को कार्यालय सञ्चालन हुँदै आएको छ । वडा नं ७ को जन्तेढुंगा, बेलडाँडा, मान्द्रेढुंगा लगायतका ठाउँका बासीन्दालाई अहिले वडा कार्यालयको सेवा लिन घन्टौ हिड्नुपर्ने स्थानीयले बताएका छन् । जनप्रतिनिधीहरुकोे राजनितिक स्वार्थका कारण वडामा अहिलेसम्म कार्यालय सञ्चालन हुन नसकेको उनिहरुले आरोप लगाएका छन् । तत्काल वडामा कार्यालय सञ्चालन नगरे दोस्रो चरणको आन्दोलन गर्न वाध्य हुने वडावासीले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

२०७४ असार १३ गते वडा कार्यालय स्थापना सम्बन्धी निर्णय भएपनि विभिन्न समस्याका कारण वडामा कार्यालय राख्न नसकेको वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

‘हामीले डण्डी डाँडाको एकल महिलाको भवन वा नयाँबजारको तरकारी भवनमा वडा कार्यालय स्थापना गर्ने निर्णय गरेका थियौं’ उनले भने ‘तरकारी भवन सोही प्रयोजनका लागि प्रयोग गर्नुपर्ने र वडा कार्यालयलाई अन्यत्र ब्यबस्थापन गर्ने मेयर साबको कुरा आएपछि थप अघि बढेन नसकेका हौं। अब दुई चार दिनमा हामी छलफल गरेर टुंगो लगाउँछौ ।’

प्रतिक्रिया दिनुहोस्