| आइतवार, कार्तिक २९, २०८३

उत्तरी गोरखा तमु समाजको तेस्रो अधिवेशन सुरु, घले छुट्टै जात हुदै होइन : गुरुङ

तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले उत्तरी गोरखामा बसोबास गर्ने घलेहरु गुरुङभित्रकै एक शाखा भएको दाबी गरेका छन् । बारपाकलगायतका गाउँहरुमा बसोबास गर्ने घलेहरुले अलग्गै पहिचानका लागि लबिङ गरिरहेका बेला अध्यक्ष गुरुङले घले अलग्गै जाति नभएको दाबी गरे ।

‘गुरुङका चार थरभित्र पनि घले छ, मगर, दमैलगायतका अरु जातिमा पनि घले भन्ने थर हुन्छ’, उत्तरी गोरखा तमु समाजको तेस्रो अधिवेशन तथा नवौं साधारण सभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने, ‘त्यसैले हाम्रो उत्तरी भूभागमा बस्ने घलेहरु गुरुङभित्रैको एक थर मात्र हो ।’ उनले अब २०७८ सालमा हुन लागिरहेको जनगणनामा मातृभाषा भनेर गुरुङ भाषा लेखाउन पनि आग्रह गरे । ‘पानी र भाषा हरेक नौ कोशमा फरक पर्छ त्यसैले उत्तरी गोरखामा बोल्ने भाषा पनि केही शव्दहरु फरक भएको मात्र हो, गुरुङ भाषा नै हो’, उनले भने, ‘अघिल्लो जनगणनामा कसैको लबिङमा यो भाषा घले भाषा भनेर सूचीकृत भएको छ, तर हामीले अब आउने जनगणनामा गुरुङ भनेर नै सूचीकृत गराउनु पर्छ ।’ धर्ममा बोन वा वुद्ध जेमा सूचीकृत गरे पनि हुने उनले सुझाव दिए ।

कार्यक्रमका विशेष अतिथि पूर्व राज्यमन्त्री छमबहादुर गुरुङले उत्तरी दुर्गम भेगमा बसोबास गर्ने गुरुङहरुलाई कतिपयले गुरुङ नै होइनन् भनेर हेप्ने गरेको भन्दै भाषा फरक हुदैमा गुरुङ होइनन् भन्ने तर्क कुतर्क भएको दाबी गरे । उनले आफ्नो पहिचानका लागि एकवद्ध भएर आवाज बुलन्द गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले उत्तरी गोरखाका तमु समुदायलाई प्रवद्र्धन गर्न धार्चे गाउँपालिकाले प्रसस्त योजना तर्जुमा गरेको जानकारी दिए । ‘हामीले उत्तरी गोरखा तमु समाजले बोल्ने गुरुङ भाषामा पाठ्यक्रम तयार गरेका छौं । यसबर्षदेखि त्यो भाषाको पाठ्यपुस्तक पढाइ हुदैछ’, उनले भने, ‘टेकबहादुर गुरुङले तयार गरेको शव्द कोष पनि प्रकाशन गर्ने हाम्रो तयारी छ ।’ गाउँपालिका र वडा कार्यालयमा स्थानीय भाषामा अडियो नागरिक बडापत्र तयार गर्ने तयारी गरेको उनले बताए । ‘वोनधर्मको डकुमेन्ट्री बनाउने र अन्तर्राष्ट्रिय वोन धर्ममहोत्सव गर्ने पनि हाम्रो तयारी छ’, उनले भने, ‘उत्तरी गोरखाका तमुहरुलाई निजामति सेवामा प्रवेश गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने पनि धार्चे गाउँपालिकाको कार्यक्रम छ ।’

कार्यक्रममा तमु ह्युला छोज धिका अध्यक्ष रामबहादुर गुरुङ, आदिवासी जनजाति युवा महासंघका अध्यक्ष दिनेश तमु, बारपाक सुलीकोट वडा नं. २ का अध्यक्ष लालबहादुर गुरुङ, तमु ह्युलछोंज धि, गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्ष नरबहादुर तमु, नेपाल तमु विद्यार्थी छोंज धिका केन्द्रीय सदस्य पुकार गुरुङ, आदिवासी जनजाति महासंघका अध्यक्ष विष्णु रानामगरलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
उत्तरी गोरखा तमू समाजका अध्यक्ष इमानसिं गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गोरखाको उत्तरी भेगको कला संस्कृति झल्कने घ्याब्री नाच, पच्यू नाच, स्यार्का नाच, प्राकृतिक बोन लामा नाच लगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

उद्घाटन कार्यक्रम अघि सतिपिपलबाट साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको थियो । पहिलो र दोस्रो अधिवेशन उत्तरी भेगमै गरेको समाजले आफ्नो संस्कृति अन्य समुदायलाई पनि चिनाउने उदेश्यले सदरमुकाममा तेस्रो अधिवेशन गरेको जनाएको छ । अधिवेशनको बन्दसत्र शनिवार हुने भएको छ । अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । विधानमा १७ सदस्य रहने ब्यवस्था भएपनि यो पटक त्यसलाई विस्तार गर्नेबारे पनि छलफल भैरहेको समाजका संस्थापक टेकबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्