| आइतवार, कार्तिक २९, २०८३

उत्तरी गोरखा तमु समाजको तेस्रो अधिवेशन सदरमुकाममा हुदै

उत्तरी गोरखा तमु समाज(फुङ)को तेस्रो अधिबेसन तथा नवौं साधारण शुक्रबारबाट गोरखा सदरमुकाममा सुरु हुने भएको छ । हरमटारीको कवर्ड हलमा हुने अधिबेशनमा उत्तरी गोरखाका ९६ गाउँसहित विभिन्न जिल्लाका सम्पर्क समितिका प्रतिनिधिहरु सहभागी हुने समाजका अध्यक्ष इमानसिंह गुरुङले बताए ।

उत्तरी गोरखामा बसोबास गर्ने गुरुङ समुदायको रीतिरिवाज, कला, संस्कृति, भेषभूषाको उजागर गर्ने उद्देश्यले सदरमुकाममा भव्यताका साथ आयोजना गर्न लागेको समाजले विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ‘यसअघिका दुईवटा अधिवेशन सदरमुकाम भन्दा बाहिर गरियो’, समाजका अध्यक्ष इमानसिङ गुरुङले भने, ‘यस पटकचाहिँ विशेष गरी हाम्रो कला, संस्कृति, भेषभूषा, भाषा इत्यादिको प्रदर्शन र प्रचार प्रसार गर्ने उद्देश्यले सदरमुकाममै आयोजना गर्न लागेका छौं ।’ अधिवेशनका प्रतिनिधिलाई सदरमुकाम ल्याउनका लागि गाउँ गाउँमै बसको र सदरमुकाममा बासको ब्यबस्था गरिएको उनले बताए ।

दुई दिनसम्म चल्ने अधिबेसनमा गोरखासहित काठमाण्डौ, कास्की, नवलपुर, चितवन र तनहुँबाट पनि प्रतिनिधि सहभागी हुने समाजले जनाएको छ । अधिबेसन सुरु हुनुअघि सतिपिपलबाट सांस्कृतिक झाँकी सहितको ¥याली निकालिने छ । ¥यालीमा बोन संस्कारमा आधारित विभिन्न झाँकी प्रदर्शन गरिनेछ ।

अधिबेसनमा पाँचसय भन्दा बढिको सहभागिता रहने र बन्दसत्रमा पर्यवेक्षक र प्रतिनिधि गरी दुई सय भन्दा बढिको सहभागिता रहनेछ ।
गोरखाको धार्चे, बारपाक सुलीकोट, चुमनुब्री, सिरानचोक गाउँपालिकाको ९६ संस्कार र संस्कृति जगेर्नाको उदेश्यले २०६६ सालमा उत्तरी गोरखा तमु समाजको स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्