| आइतवार, कार्तिक २९, २०८३

गोरखामा समाजवादी पार्टी नेपालको कार्यदल र सचिवालय गठन

 

नयाँशक्ति र संघीय समाजवादी पार्टी एकीकरणपछि बनेको समाजवादी पार्टी नेपाल गोरखाको कार्यदल र जिल्ला कार्यालय टिम निर्माण भएको छ ।
शनिबार सम्पन्न नवगठित पार्टीको पहिलो संयुक्त बैठकले पार्टी एकतालाई ब्यवस्थित गर्न नौ सदस्यीय कार्यदल र कार्यालय टिम गठन गरेको केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमालले जानकारी दिए ।

बैठकले कार्यदल सहित नौ जना सदस्य रहेको जिल्ला कार्यालय टीम गठन गरेको छ । पार्टी एकतालाई ब्यवस्थित गर्न गठित कार्यदलमा गोपालबाबु श्रेष्ठ, विपिनचन्द्र ढकाल, शान्ता न्यौपाने, नारायण खत्री, कल्पना परियार, मीतबहादुर राना, तेजबहादुर गुरुङ, पाकुली तामाङ र प्रेम भुजेल रहेका छन् ।

यस्तै नौ सदस्यीय कार्यालय टीममा ज्ञानेन्द्र कुमाल, गोपालबाबु श्रेष्ठ, सुकदेव तामाङ, पूर्णमाया वन्त, रोहिणीप्रसाद पाण्डे, तेजबहादुर गुरुङ, नारायण खत्री, लालबहादुर विक र कुलमान गुरुङ रहेका छन् । बैठकले यसअघिको नयाँ शक्ति पार्टीको कार्यालयलाई नै समाजवादी पार्टीको कार्यालय बनाउने निर्णय गरेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । कार्यालय सचिवमा ज्योती कोइरालालाई चयन गरिएको छ ।
केन्द्रमा दुई पार्टीविच एकता घोषणा भएपनि जिल्लाहरुमा भने औपचारिक एकता शुरु भएको छैन । देशभरमै गोरखामा पहिलो पटक संयुक्त बैठक बसेर एकता प्रक्रियालाई औपचारिकता दिइएको पार्टीका केन्द्रिय सदस्य कुमालले जानकारी दिए ।
तत्कालीन नयाँ शक्तिका एकसय ५१ र संघीय समाजवादीका ३१ गरी एकसय ८२ सदस्यीय जिल्ला समिति गठन गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । यहि महिनाभर एकताको कार्यविधि बन्छ’, पार्टीका केन्द्रिय सदस्य कुमालले भने, ‘लगत्तै स्थानीय तहहरुमा नयाँ कमिटि बनाएर संगठन सुदृढिकरणमा लाग्छौँ । आउँदो असारसम्ममा सबै स्थानीय तहमा समिति गठन गरिसक्ने हाम्रो लक्ष्य छ ।’
असोज मसान्तसम्ममा केन्द्रिय अधिवेशन गर्ने लक्ष्य अनुसार त्यस अघि वडादेखि जिल्ला तहसम्मको अधिवेशन पनि गरिसक्ने समाज वादी पार्टीले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमालले पार्टीको एकता प्रक्रिया प्रभावित गर्ने गरी आफू अन्य पार्टीमा प्रवेश गर्न लागेको भन्दै दुष्प्रचार गरिएका ेप्रति दुख व्यक्त गरेका थिए । ‘म पहिले नयाँ शक्ति थिएँ, अहिले समाजवादी पार्टीमा छु’, उनले भने ‘केहि मिडियामा मैले पार्टी छाड्न लागेको भन्ने समाचार पनि आए । त्यो गलत छ । म कतै गएको छैन ।’ अन्य सदस्यहरुले पार्टी परिवर्तन गर्ने भन्ने हल्ला पनि झुठा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्