
चनौटेको दरौंदी नदीमाथि मोटरेबल पुल निर्माण सम्पन्न
गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका जोड्ने गरी दरौंदी नदीमा पक्की पुल बनेको छ । अजिरकोट गाउँपालिका ५ को चनौटे र बारपाक सुलिकोटको ताकुमाझ लाकुरीबोट जोड्ने गरी चनौटेमा मोटरेबल पुल बनेको हो । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै उनले चनौटे हुँदै ताकुकोटसम्मको सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । तत्कालीन जिल्ला बिकास समितिले निर्माण सुरु गरेको पुल गण्डकी प्रदेश सरकार मातहत आएको थियो । प्रदेश सरकारको पूर्वाधार बिकास कार्यालय लमजुङ्गले पुल निर्माण सम्पन्न गरेको हो । पुलको लम्बाई ६० मिटर र चौडाई ४.२५ मिटर रहेको छ ।
दुई करोड ४३ लाख २२ हजार ३३३ रुपैयाँको लागतमा पुल निर्माण भएको पूर्वाधार बिकास कार्यालयका प्रमुख राम पराजुलीले जानकारी दिए ।

पुल निर्माणपछि चनौटे ताकुकोट सडकमा बार्है महिना मोटर चल्ने भएको छ । कार्यक्रममा अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, पूर्व निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ्ग, गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




