
बारपाक सुलीकोटद्वारा आफ्नै दुईबर्षको कामको मूल्याङ्कन
गोरखाको वारपाक सुलिकोट गाउँपालीकाले हालसम्म गरेका कामको समीक्षा गरेको छ । जनप्रतिनिधिहरूले पदबहाली गरेको दुई वर्ष पूरा भएको अवसरमा हालसम्मको कामको समीक्षा गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णु भट्टले दुई वर्षको अवधिमा पुनर्निर्माणलाई तीब्रता दिइएको भन्दै हालसम्म ९० प्रतिशत ब्यक्तिगत आवास पुननिर्माण सकिएको बताए । गाउँपालिकाको बृहत गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको, गाउँपालिकाको बिद्युतीय प्रोफाइल बनाउने काम भैरहेको र सबै वडाको केन्द्रलाई पालिकाको केन्द्रसंग जोड्ने सडक चौडा बनाउने काम सकिएको उनले बताए । ‘वडा र गाउँ पालीका केन्द्र जोड्ने सडक स्तरोन्नती गर्ने काम शुरु भैसकेको छ’ उनले भने ‘एक वडा एक खेल मैदानको नीति अन्तर्गत बजेट बिनियोजन भै काम भैरहेको छ । सबै वडामा एम्बुलेन्स सेवा पुर्याउने लक्ष्य अनुसार ८ मध्ये ५ वडामा एम्बुलेन्स पुर्याइएको छ ।’ एक घर एक धारा कार्यक्रम अन्तर्गत ६० प्रतिशत घरमा धारा पुगेको र बारपाकमा ल्यान्डलाइन टेलिफोन पुर्याउने काम अघि बढाइएको गाउँपालीका अध्यक्ष भट्टले जानकारी दिए ।

आवश्यक प्राविधिक एवम् प्रशासनिक कर्मचारीको अभाव, जनप्रतिनिधि र कर्मचारीको क्षमता मा कमी र कतिपय अवस्थामा जनप्रतिनिधि र कर्मचारीको विचको द्वन्दले पनि काममा असर गरेको उनको गुनासो छ । समीक्षा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण वस्नेतले स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी ब्यबस्था पन गर्ने बताए । नेपाली कांग्रेसका गाउँपालीका संयोजक जीतबहादुर घलेले वडा नम्वर ४ सौरपानीलाई २ वटा वडा बनाउन आग्रह गरे । ‘रन्चोक भन्दा पल्तिरकोे दुर्गम भेगलाई अर्को वडा बनाउनुपर्छ’ उनले भने ।पालिकाको हालसम्मको कामबारे बोल्दै स्थानीय सुकराज गुरुङ्गले जनप्रतिनिधी र कर्मचारी नियमीत रूपमा कार्यालयमा नभेटिने गुनासो गरे ।
यस्तै माइकोट माविका प्रधानाध्यापक रमेश सुवेदीले छोटो अवधीमै सडक सन्जाल सुधारको काम भएपनि शिक्षा र स्वास्थ्य क्षेत्रमा आशा अनुसार प्रगती हुन नसकेको बताए । वडा नम्वर ६ का दृष्टिबिहिन तुलबहादुर गुरुङ्गले जनप्रतिनिधिको काममा नातावाद देखिने गरेको गुनासो गरे । ‘सडक निर्माणको कामको जिम्मा आफ्ना नजिकका मान्छेलाई दिने गरिएको छ’ उनले भने । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने जनप्रतिनिधि र कर्मचारीहरूलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा वडा नम्वर ७ का अध्यक्ष कृष्ण गुरुङ्ग, हेल्थ असिस्टेन्ट भिमसेन धिताल, कम्प्युटर अपरेटर तेजुमाया गुरुङ्ग, माइकोट माविका प्रधानाध्यापक रमेश सुवेदी, पशु शाखाका कर्मचारी तारामणि घिमिरे, कन्यादेवी माबी पोखरीका शिक्षक जीतबहादुर गुरुङ्ग, जलकन्या मावि ताकुमाझ लाकुरीबोटकी शिक्षिका शारदा भुजेल छन्।

यस्तै शैक्षिक सत्र २०७५ मा कक्षा ८ मा सर्वोत्कृष्ट अङ्क ल्याउने माझथर माविका अन्जन तामाङ्ग र एसईई परीक्षामा सर्वोत्कृष्ट भएका माइकोट माविका गणेश सुनारलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार बिकास मन्त्रालय का सचीव इश्वर मरहट्टा, गाउँ पालिका उपप्रमुख सनमाया गुरुङ्ग, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख खेमराज पौडेल, नेकपा जिल्ला कमिटी सदस्य कृष्ण नेपाली, बारपाक सुलिकोट नेकपा संयोजक नरबहादुर गुरुङ्ग, सचिव सुजन गुरुङ्ग, पत्रकार भीमलाल श्रेष्ठले मन्तव्य ब्यक्त गरेका थिए ।




