
मासिँदै बरामका भाषा, भेषभूषा, संस्कृति, जगाउने नयाँपुस्ताको रहर
सिरानचोक गाउँपालिका ४ को डाँडागाउँमा करिब ४५ घर बराम समुदायको बसोबास छ । कटहरबारीमा २४ घर बराम समुदाय बस्छन् । हरिबलेमा १५ घर र चित्रेमा सात घर, झिम्रेकमा ४० घर, सिम्ले र कुजुङमा पनि बराम समुदायको बसोबास छ तर उनीहरु आफ्नो थर गुरुङ लेख्छन् । अधिकांशको लालपूर्जामा बराम र नागरिकतामा गुरुङ थर छ । यहाँका बराम समुदायलाई आफ्नो भेषभूषा र चाडपर्वको बारेमा पनि पत्तो नभएको सो वडाका जनप्रतिनिधि समेत रहेका कुलबहादुर बराम बताउँछन् ।

गुरुङ समुदायको संगतले सिरानचोक गाउँपालिकाभित्र रहेका प्राय बरामले गुरुङ भाषा बुझ्ने, बोल्न पनि आउने तर आफ्नो भाषा भने नजानेको उनीहरु बताउँछन् । ‘बाउबाजेको पालादेखि यही गाउँमा बसेको हो’, डाँडागाउँकी ७२ बर्षकी आशमाया बराम भन्छिन्, ‘न हाम्रो बाउले बराम भाषा बोले, न बाउले बोले । हामीले जान्ने त झन कुरै भएन ।’ आफ्नो भाषाको महत्व बारे कसैलाई ज्ञान नभएकाले भाषा सिक्न पनि नखोजेको उनको भनाइ छ ।
सरकारले बरामलाई सीमान्तकृत समुदायभित्र सूचीकृत गरेको छ । सरकारले पहिचान दिएपछि नयाँ पुस्तालाई थर सच्याउने र भाषा सिक्ने चाहना बढेको छ तर लालपूर्जामा एउटा थर, नागरिकतामा अर्को थर हुँदा झण्झट भएको वडा सदस्य कुलबहादुर बराम बताउँछन् । ‘पहिले बाउबाजेको जग्गा अंश लिँदा बराम थरबाट लालपूर्जा बनाए । जागिर खान नागरिकतामा गुरुङ लेखे, कसैले मगर लेखे’, उनले भने, ‘अहिले बरामले झन आरक्षण पाउने भएपछि छोरानातिलाई थर सच्याउन झञ्झट भएको छ ।’

नयाँपुस्तालाई आफ्नो भाषा र समुदायप्रति मोह बढेको भीमसेनथापा गाउँपालिका ३ गैराथोकका गोविन्द बराम बताउँछन् । ‘यसै त बराम अल्पसंख्यक सीमान्तकृत हो, झन थर फेरेर जनगणनामा कम देखिएको छ’, उनले भने, ‘अहिले नयाँ पुस्तालाई आफ्नो थर लेख्न पाए, भाषा सिक्न पाए, हाम्रो भेषभूषा लगाउन पाए हुन्थ्यो भन्ने भएको छ ।’ तर भाषा सिक्न नसकिएको उनले बताए ।
‘बिभिन्न कार्यक्रमहरुमा गुरुङ, मगरले आफ्नो जाति, भाषा, संस्कृतिको प्रदर्शन गर्न थालेपछि हाम्रो नयाँ पुस्तालाई पनि आफ्नो भाषा सिक्न पाएहुन्थ्यो, आफ्नो भेषभूषा लगाउन पाएहुन्थ्यो भन्ने परेको छ’, उनले भने, ‘पोहरसाल भाषा सिक्ने भनेर किताब पनि बाँडेका थिए । तर हाम्रो बरामहरु धेरैजसोले पढ्नै जान्दैनन् । किताब बाँडेर मात्र के गर्ने ?’सीमान्तकृत, अल्पसंख्यक समुदायको प्रवद्र्धन गर्ने खालको कार्यक्रम स्थानीय सरकारले गर्नुपर्नेमा उनको जोड छ ।

बराम समुदायको बाक्लो बसोबास रहेको गाउँको विद्यालयमा एउटा पाठ्यपुस्तक बराम भाषाको राख्नुपर्नेमा उनको माग छ । ‘बरामहरुको आफ्नो भाषा छ । किताब पनि छ’, उनले भने, ‘कमसेकम बरामहरुको बाक्लो बसोबास भएको गाउँको स्कूलमा एउटा किताब त्यही भाषामा पढाउन गाउँपालिकाले नियम बनाएर लागु गराइदिए हुन्थ्यो ।’ बल लगाउने ठाउँमा बरामहरुको प्रयोग हुने तर वुद्धि लगाउने ठाउँमा बरामहरुले ठाउँ नपाउने गरेको भन्दै उनले दुख ब्यक्त गरे ।




